
गान्तोक, 05 अक्टोबर (हि.स.)। सिक्किम राज्य सहकारी सङ्घ (सिकोन) ले आनन्द, गुजरातस्थित त्रिभुवन सहकारी विश्वविद्यालय (टीएसयू) सँगको शैक्षिक सहकार्यलाई अन्तिम रूप दिएको छ र नोभेम्बर, 2026 को तेस्रो सातादेखि सहकारी व्यवस्थापनमा तीनमहिने सर्टिफिकेट कोर्स सञ्चालन गर्ने तयारी गरिरहेको छ।
यो पाठ्यक्रम सिकोनको जुनियर सहकारी तालिम केन्द्र (जेसीटीसी) मा सञ्चालन गरिनेछ। यस पहलले सिक्किमको सहकारी क्षेत्रमा व्यावसायिक तालिम, क्षमता अभिवृद्धि र दक्ष जनशक्ति विकासका लागि महत्त्वपूर्ण आधार खड़ा गर्ने अपेक्षा गरिएको छ। त्रिभुवन सहकारी विश्वविद्यालय भारत सरकारको सहकारिता मन्त्रालयअन्तर्गत सञ्चालित छ।
पाठ्यक्रमको सम्बन्धन र शैक्षिक कार्यान्वयनसम्बन्धी अन्तिम बैठक आनन्दस्थित कार्यकक्षमा उपकुलपति प्रा. (डा.) एसपी सिंहसँग सम्पन्न भयो। पाठ्यक्रमको विवरण पुस्तिका सार्वजनिक गर्ने लगायतका आवश्यक प्रक्रियाहरू पूरा भइसकेका छन् र सिकोन पहिलो ब्याच सञ्चालनको तयारीमा जुटेको छ।
यो पाठ्यक्रम टीएसयूद्वारा निर्धारित शैक्षिक मापदण्ड र निर्देशिकाअनुसार सञ्चालन गरिनेछ। यसले सहभागीहरूलाई सहकारी व्यवस्थापनसम्बन्धी व्यवस्थित शैक्षिक ज्ञानका साथै व्यावहारिक अनुभव र आवश्यक व्यावसायिक कौशलहरू प्रदान गर्नेछ।
बैठकको क्रममा उपकुलपति प्रा. (डा.) एसपी सिंहले टीएसयू सँगको सम्बन्धनपछि आफ्नो पहिलो प्रमाणपत्र तहको पाठ्यक्रम शुरु गर्ने सिकोनको पहलको प्रशंसा गरे। उनले यस पहललाई सहकारी व्यवस्थापनमा व्यवस्थित शिक्षा र व्यावसायिक विकासतर्फको महत्त्वपूर्ण कदमको रूपमा स्वागत गरे।
सिकोनका अध्यक्ष डा. मङ्गलजीत राईले विश्वविद्यालयको नेतृत्वबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति आभार व्यक्त गरे र सिकोन यो पाठ्यक्रम सफलतापूर्वक सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए। उनले सहकारी क्षेत्रमा व्यावसायिक विकासका थप अवसरहरू सिर्जना गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याए।
डा. राईले नोभेम्बर, 2026 मा पाठ्यक्रमको शुभारम्भको अवसरमा सिक्किम र सिकोनको भ्रमण गर्न उपकुलपतिलाई हार्दिक निमन्त्रणा दिए। उनले यस्तो भ्रमणले टीएसयू र सिकोनबीचको शैक्षिक सहकार्यलाई अझ सुदृढ़ बनाउने तथा सिक्किमका सहकारी संस्थाहरू र सरोकारवालाहरूलाई थप प्रोत्साहन प्रदान गर्ने बताए। यस सहकार्यले सिक्किमको सहकारी क्षेत्रमा विशेष तालिमको पहुँच विस्तार गर्ने तथा दक्ष, सक्षम र व्यावसायिक रूपमा सुसज्जित जनशक्ति विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल