
रायपुर, 0१ नोभेम्बर (हि.स.)। केन्द्रिय युवा कार्यक्रम तथा खेलकुद एवं श्रम तथा रोजगारमन्त्री डा. मनसुख माण्डविया आज छत्तीसगढको भ्रमणमा रायपुर पुग्ने छन्। भ्रमणका क्रममा उनले नवा रायपुर अटल नगरमा आयोजित तीनदिने छत्तीसगढ राज्योत्सव २०२६ को औपचारिक उद्घाटन गर्नेछन्। उद्घाटन समारोहको अध्यक्षता मुख्यमन्त्री विष्णुदेव सायले गर्नेछन्।
केन्द्रिय मन्त्रीले आफ्नो भ्रमणका क्रममा नर्सिङ महाविद्यालय तथा परिचारक छात्रावास निर्माण कार्यको शिलान्यास गर्नुका साथै छत्तीसगढ हक्की लिगको समापन तथा पुरस्कार वितरण समारोहमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।
छत्तीसगढ राज्य स्थापना दिवसको अवसरमा १ देखि ३ नोभेम्बरसम्म नवा रायपुर अटल नगरस्थित राज्योत्सव मैदानमा तीनदिने महोत्सव आयोजना भइरहेको छ। महोत्सवमा राज्यको समृद्ध सांस्कृतिक सम्पदा, लोककला, जनजातीय परम्परा तथा विकास यात्राको झलक प्रस्तुत गरिनेछ। यस अवसरमा विभिन्न क्षेत्रका स्थानीय लोककलाकारका साथै राष्ट्रियस्तरका चर्चित कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्।
निर्धारित कार्यक्रमअनुसार मन्त्री माण्डविया साँझ ५ बजी रायपुरस्थित श्री सत्य साई सञ्जीवनी बाल हृदय चिकित्सालय पुग्नेछन्। त्यहाँ उनले नर्सिङ महाविद्यालय तथा परिचारक छात्रावास निर्माण कार्यको शिलान्यास गर्नेछन्। यस परियोजनाले स्वास्थ्य शिक्षाका लागि आवश्यक पूर्वाधार विकास गर्नुका साथै चिकित्सा सेवाका लागि दक्ष जनशक्ति तयार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
त्यसपछि साँझ ६ बजी उनी राज्योत्सव मैदान पुगेर तीनदिने महोत्सवको उद्घाटन गर्नेछन्। कार्यक्रममा छत्तीसगढ विधानसभा अध्यक्ष डा. रमन सिंह, केन्द्रिय राज्यमन्त्री तोखन साहू, उपमुख्यमन्त्री अरुण साव तथा विजय शर्मा लगायत राज्य सरकारका मन्त्री, सांसद, विधायक र अन्य जनप्रतिनिधिहरू उपस्थित रहनेछन्।
यसैगरी, राति ८ बजी मन्त्री माण्डविया रायपुरस्थित सरदार वल्लभभाई पटेल अन्तरराष्ट्रिय हक्की स्टेडियम पुगेर छत्तीसगढ हक्की लिगको समापन तथा पुरस्कार वितरण समारोहमा सहभागी हुनेछन्। उनले खेलाडीहरूको हौसला बढाउने कार्यक्रम रहेको छ। यस प्रतियोगिताले राज्यका हक्की प्रतिभाहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी