जोशीमठ हेलिकोप्टर दुर्घटना: सबै छ जनाको शव बरामद, उद्धार अभियान सम्पन्न
ऋषिकेश ले जाते हुए


ज्योतिर्मठ, 0१ नोभेम्बर (हि.स.)। उत्तराखण्डको चमोली जिल्लास्थित जोशीमठ नजिकै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सबै छ जनाको शव बरामद गरिएको छ। दुर्गम तथा उच्च पहाडी क्षेत्रमा कठिन परिस्थितिबीच सञ्चालन गरिएको उद्धार अभियान सम्पन्न भएको प्रशासनले जनाएको छ।

उद्धार गरिएका सबै शवलाई सडक मार्ग हुँदै जोशीमठस्थित सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) पुर्याइएको छ। आवश्यक कानुनी तथा चिकित्सकीय प्रक्रिया पूरा गरेपछि आइतबार सबै छ जनाको शव हेलिकोप्टरमार्फत ऋषिकेशस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पठाइएको छ।

प्रशासनका अनुसार, दुर्घटनापछि घटनास्थलमा विभिन्न उद्धार निकायका टोली परिचालन गरिएका थिए। कठिन भौगोलिक अवस्था र पैदल हिँड्नुपर्ने दुर्गम बाटोका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। यसका बावजुद भारतीय सेना, आईटीबीपी, एसडीआरएफ, एनडीआरएफ, पुलिस, जिल्ला प्रशासन तथा वन विभागका टोलीले आपसी समन्वयमा उद्धार अभियान सञ्चालन गरेका थिए।

उद्धारकर्मीहरू कठिन पहाडी बाटो हुँदै घटनास्थल पुगेका थिए। त्यसपछि सबै छ जनाको शव सुरक्षित रूपमा बाहिर निकालेर सडक मार्गसम्म ल्याइएको थियो। त्यहाँबाट जोशीमठस्थित सामुदायिक स्वास्थ्य केन्द्र पुर्याई आवश्यक प्रक्रिया पूरा गरियो। पछि एनटीपीसी हेलिप्याडबाट हेलिकोप्टरमार्फत शवहरू एम्स ऋषिकेश पठाइएको हो।

उल्लेखनीय छ, गत ३० अक्टोबरमा बद्रीनाथ धामबाट देहरादून फर्किरहेको निजी हेलिकोप्टर चमोली जिल्लाको जोशीमठ क्षेत्रअन्तर्गत चाई गाउँ नजिकैको वन क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

ट्रान्स भारत एभिएसन प्राइभेट लिमिटेडको एएस ३५० बी३ हेलिकोप्टर दिउँसो करिब १ः१४ बजी बद्रीनाथ हेलिप्याडबाट देहरादूनको सहस्रधारा हेलिप्याडका लागि उडेको थियो। हेलिकोप्टरमा चालकसहित पाँच यात्रु गरी जम्मा छ जना सवार थिए। दुर्घटनामा चालक र पाँचै जना यात्रुको मृत्यु भएको थियो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासन, पुलिस तथा सुरक्षा निकायले खोजी तथा उद्धार अभियान शुरु गरेका थिए। दुर्गम पहाडी भूभाग, उच्च उचाइ र प्रतिकूल परिस्थितिका कारण शव निकाल्ने कार्यमा कठिनाइ भएको थियो। सबै छ जनाको शव बरामद गरी एम्स ऋषिकेश पठाइएसँगै दुर्घटनास्थलमा सञ्चालन गरिएको उद्धार अभियान औपचारिक रूपमा सम्पन्न भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande