
वासिङ्टन (अमेरिका), १२ नोभेम्बर (हि.स.)। अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनअन्तर्गत डेमोक्रेटिक पार्टीका स्कट कोलोमले मिसिसिपी सिनेट निर्वाचनमा रिपब्लिकन सिनेटर सिन्डी हाइड स्मिथलाई पराजित गरेका छन्। केही दिनसम्म चलेको रोमाञ्चक तथा अनिश्चित प्रतिस्पर्धापछि डेमोक्रेटिक पार्टीले आफ्नो पक्षमा पारेको यो आठौँ सिनेट सिट हो।
सीबीएस न्युजको रिपोर्टअनुसार, ४३ वर्षीय कोलोम जिल्ला सरकारी वकिल हुन्। उनी मिसिसिपीका सातौँ पुस्ताका बासिन्दा हुन्। उनले जीवनयापनको बढ्दो लागत तथा स्वास्थ्य सेवाजस्ता मुद्दालाई प्रमुखताका साथ उठाउँदै चुनावी अभियान सञ्चालन गरेका थिए। उनले 'म्याग्नोलिया स्टेट' भनेर चिनिने मिसिसिपीका जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनलाई पूर्वराष्ट्रपति बिल क्लिन्टन तथा पूर्वउपराष्ट्रपति कमला ह्यारिसजस्ता वरिष्ठ नेताहरूको समर्थन प्राप्त भएको थियो।
६७ वर्षीया हाइड स्मिथ २०१८ देखि सिनेटमा कार्यरत थिइन्। उनी अमेरिकी कंग्रेसमा मिसिसिपीको प्रतिनिधित्व गर्ने पहिलो निर्वाचित महिला हुन्।
परम्परागत रूपमा रिपब्लिकन पार्टीको बलियो आधार मानिने मिसिसिपीमा डेमोक्रेटिक पार्टीका लागि यो निर्वाचन चुनौतीपूर्ण मानिएको थियो। १९८२ यता यस राज्यबाट सिनेटका लागि कुनै पनि डेमोक्रेटिक उम्मेदवार निर्वाचित भएका थिएनन्।
हिन्दुस्थान समाचार / बिशाल