नेपालमा जङ्गली हात्ती प्रवेश गर्ने आशङ्का, झापाको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा
नेपाली सीमा में प्रवेश करते हाथी


काठमाडौं, १२ नोभेम्बर (हि.स.)। नेपाल-भारत सीमासँग जोडिएको झापा जिल्लाको मेचीनगर नगरपालिका अन्तर्गत प्रसाद गौडा क्षेत्रबाट जङ्गली हात्तीहरू नेपाल प्रवेश गर्ने प्रयास गरेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हात्तीहरूलाई पुनः भारततर्फ धपाउन आजदेखि सुरक्षा सतर्कता बढाइएको जानकारी दिएका छन्। हात्तीको बथान नेपाल प्रवेश गरी स्थानीय बासिन्दाका घर तथा पाक्ने अवस्थामा पुगेको धानबालीमा क्षति पुर्‍याइरहेको बताइएको छ।

हात्तीहरूलाई नेपाल प्रवेश गर्नबाट रोक्न तथा सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र पुलिस बलको बीओपी बहुडांगी, नेपाल पुलिस, डिभिजन वन कार्यालयका वनरक्षक, द्रुत प्रतिकार्य टोली, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसानहरूलाई परिचालन गरिएको छ।

हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मी, वन अधिकारी तथा स्थानीय बासिन्दाले विभिन्न उपकरण र सवारीसाधनको प्रयोग गरिरहेका छन्। यस अभियानमा ध्वनिविस्तारक यन्त्र जडित १० भन्दा बढी साना साइरन, सशस्त्र पुलिस बलका दुईवटा ठूला साइरन तथा डिभिजन वन कार्यालय र सुरक्षा निकायका विभिन्न साइरन जडित सवारीसाधन परिचालन गरिएका छन्। यसमा वन कार्यालय र सशस्त्र पुलिस बलका एक-एकवटा तथा नेपाल पुलिसको एउटा ठूलो साइरन जडित सवारीसाधन रहेका छन्।

यसका साथै गस्ती तथा निगरानीलाई प्रभावकारी बनाउन ९० भन्दा बढी शक्तिशाली बत्ती, तीनवटा ट्र्याक्टर र १० भन्दा बढी मोटरसाइकलसमेत परिचालन गरिएको छ।

स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अपील गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande