नेपालका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
जेलमुक्त होने के बाद परिवार वालो के साथ पूर्व उपप्रधानमंत्री रायमाझी


काठमाडौं, १२ नोभेम्बर (हि.स.)। नेपालका पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय भोगिरहेका रायमाझीलाई ज्येष्ठ नागरिकले पाउने कानुनी छुटको प्रावधानअनुसार रिहा गरिएको हो।

जेल प्रशासनले उनलाई उनकी पत्नी तथा परिवारका केही अन्य सदस्यको जिम्मा लगाइएको जनाएको छ। प्रशासनका अनुसार, उनी आज बिहान जेलबाट बाहिरिएका हुन्। ६५ वर्ष पुगेका रायमाझीले ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका थिए।

उनको निवेदनपछि अदालतले संशोधित कैदी पुर्जी जारी गर्दै ज्येष्ठ नागरिकलाई उपलब्ध कानुनी छुटको सुविधा दिन आदेश दिएको थियो। काठमाडौं जिल्ला अदालतले यस निर्णयबारे जानकारी दिँदै जेल प्रशासनलाई पत्रसमेत पठाएको थियो। विद्यमान कानुनी प्रावधानअनुसार ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई १५ मई २०२३ मा पक्राउ गरिएको थियो। यस प्रकरणमा उनलाई चार वर्ष कैद र ४० हजार रुपियाँ जरिवानाको सजाय सुनाइएको थियो। अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा दोषी ठहर गरेको थियो।

अदालतले ठगी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपियाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना तथा राज्यविरुद्धको अपराधमा एक वर्ष छ महिना कैद र १५ हजार रुपियाँ जरिवानाको सजाय सुनाएको थियो। यसै अपराधअन्तर्गत थप छ महिना कैद सजायसमेत तोकिएको थियो।

यद्यपि, विभिन्न अपराधमा सुनाइएका सजायको अवधि एकअर्कासँग जोडिने भएकाले अदालतले सबै सजायको समायोजन गर्दै अन्तिम फैसला चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना कायम गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande