
कोलकाता, 13 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार 'पश्चिम बङ्गाल आवास योजना' अन्तर्गत 7 लाख 171 लाभार्थीहरूको ब्याङ्क खातामा दोस्रो किस्ताको 60-60 हजार रुपियाँ जारी गरे। दुवै किस्तलाई मिलाएर लाभार्थीहरूले 1 लाख 20 हजार रुपियाँ पाइरहेका छन्। निर्माण सामग्रीको बढ्दो मूल्यको कारणले हाल यति पैसामा घर निर्माण गर्न निकै गाह्रो पर्छ जसलाई मध्यनजर गर्दै उनले जिल्ला अधिकारीहरूलाई निर्देश दिए, यस योजना तथा प्रधानमन्त्री आवास योजना अन्तर्गत घर बनाउनेहरूका लागि बालुवाको मूल्य 1200 रुपियाँभन्दा बढी हुनु हुँदैन।
मुख्यमन्त्रीले भवन निर्माण सामग्री जस्तै बालुवा, रड र सिमेन्टजको महँगोको उल्लेख गर्दै लाभार्थीहरूका लागि केही अन्य राहतहरूको पनि घोषणा गरे। उनले बताए, घर बनाउनेहरूलाई 30 हजार रुपियाँको अतिरिक्त सहायता दिइनेछ। यसको साथै स्वच्छ भारत अभियान अन्तर्गत शौचालय निर्माण गर्नको लागि 12 हजार रुपियाँ छुट्टै दिइने छ। मुख्यमन्त्रीले सहमति जनाउने लाभार्थीहरूलाई पनि 'प्रधानमन्त्री सूर्य घर योजना'सँग जोड्न जिल्ला मेजिस्ट्रेट तथा खण्ड विकास अधिकारीहरूलाई निर्देश दिए। यस सौर्य ऊर्जा योजना अन्तर्गत 100 यूनिटमा 30 हजार रुपियाँ, 200 यूनिटमा 60 हजार रुपियाँ तथा 300 यूनिटमा 78 हजार रुपियाँ छुटको प्रावधान छ। यसबाहेक, राज्य सरकारले एससी र एसटी लाभार्थीहरूलाई 15,000 रुपियाँको अतिरिक्त अनुदान पनि प्रदान गर्नेछ।
विपक्षीलाई लक्षित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, राजनीतिक कारणले गर्दा राज्यमा भाजपा सत्तामा आएमा लाभार्थीहरूले दोस्रो किस्ताको पैसा पाउने छैनन् भन्ने भ्रम जनतामा फैलिएको थियो। आफ्नो सरकारले आज सात लाख लाभार्थीहरूलाई पैसा दिएर यो दाबी गलत साबित गरेको छ। पूर्ण पारदर्शिता कायम राखेर तथा नक्कली लाभार्थीहरूलाई हटाएर अहिलेसम्म 17 लाख 20 हजार वास्तविक लाभार्थीहरूलाई दोस्रो किस्ता दिइएको मुख्यमन्त्रीले जानकारी दिए।
उल्लेखनीय छ, पछिल्लो तृणमूल कङ्ग्रेस सरकारको कार्यकालमा तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्रलाई रकम नदिएको आरोप लगाउँदै 'बङ्गलार बाड़ी' परियोजना शुरु गरेकी थिइन्। राज्यमा सत्ता परिवर्तन भएपछि भाजपा सरकारले त्यही परियोजनालाई 'पश्चिम बङ्गाल आवास योजना' नाम दिएर अगाडि बढाउने निर्णय गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा