आर्यन तामाङ बने खरसाङमा आयोजित राइजिङ स्टारको विजेता : जिते पचास हजार रुपियाँको पुरस्कार
आर्यन तामाङ बने खरसाङमा आयोजित राईजिङ स्टारको विजेता


खरसाङ, 15 नोभेम्बर (हि.स.)। दार्जिलिङ पुलिसको आयोजनामा दार्जिलिङमा हुन लागेको टिस्टा फेस्टको लागि गायन क्षेत्रमा शुरु राइजिङ स्टारको खरसाङ पुलिस थाना अन्तर्गतको ग्राण्ड फिनाले सम्पन्न भएको छ। उक्त राइजिङ स्टारको खरसाङ पुलिस थाना स्तरीयको विजेता आर्यन तामाङ बनेका छन् भने उप विजेता सुजता लामगादे बनेकी छन्।

फिनालेमा विजेता आर्यन तामाङलाई खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस हरदीप सिंहको बाहुलीबाट प्रमाण पत्र र ट्रफीसहित नगदराशि पचास हजार रुपियाँ प्रदान गरिएको छ। त्यसरी नै उप विजेता सुजता लामगादेलाई खरसाङ पुलिस थानाका आईसी पलास मोहन्तोको बाहुलीबाट प्रमाण पत्र र ट्रफीसहित नगदराशि तीस हजार रुपियाँ प्रदान गरिएको छ।

अब दुवैजना खरसाङ, मिरिक र दार्जिलिङ सदरका दुई-दुईजनालाई लिएर खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा आगामी 22 नोभेम्बरमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नु पर्नेछ। यसबाहेक अन्य छजनालाई प्रमाण पत्रहरु प्रदान गरिएको छ। खरसाङ पुलिस थाना स्तरीयको लागि राइजिङ स्टारको अडिशन गत 13 र 14 नोभेम्बरमा भएको थियो भने आज आइतवार आठजनालाई लिएर खरसाङ पुलिस थाना स्तरीय ग्राण्ड फिनाले सम्पन्न भएको छ।

फिनालेमा जम्मा 8 जनाले प्रथममा हिन्दी र दोस्रोमा नेपाली गीत प्रस्तुत गरेका थिए। उक्त 8 जना गत 13 र 14 नोभेम्बरमा भएको अडिशनमा आएका 256 जनाबाट चयन भएर आएका थिए। यस 8 जनाबाट 2 जना विजेता र उपविजेता भएर जोनल राउण्डको लागि चयन भएका छन्।

फिनालेमा निर्णायकको रुपमा वरिष्ठ संगीतकारहरु क्रमैले महेश्वर लामा, विकाससिंह लोहार र रुपेस रसाइली रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande