
खरसाङ, १५ नोभेम्बर (हि.स.)। गोर्खाहरूको लामो समयदेखिको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पुनः सशक्त रूपमा अघि बढाउन गोर्खाल्याण्ड नौलो संघर्ष समितिका बिक्रमादि राई आगामी १ दिसम्बरदेखि अनशनमा बस्ने भएका छन्।
खरसाङको गिद्ध पहाडमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको सभा सम्पन्न भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै राईले उक्त घोषणा गरेका हुन्। उनले आफ्नो अनशन मिरिक क्षेत्रको ग्यामन ब्रिज नजिकै रहेको खेल मैदानमा बस्ने जानकारी दिए। समितिको स्थापना तथा घोषणा पनि ग्यामन ब्रिजबाटै शुरु गरिएको हुनाले सोही स्थानलाई अनशनका लागि चयन गरिएको उनले बताए।गोर्खाल्याण्डको माग, गोर्खाहरूको मुक्ति, पीपीएस, केन्द्र सरकारको उदासीनता तथा पहाडका स्थानीय नेताहरूलाई मुद्दाप्रति जिम्मेवार बनाउन अनशन बस्ने निर्णय गरिएको राईले स्पष्ट पारे। विशेषगरी संसद्को आगामी शीतकालीन अधिवेशनमा छुट्टै राज्य गोर्खाल्याण्डसम्बन्धी विधेयक प्रस्तुत हुनुपर्ने उनको प्रमुख माग रहेको छ।उनका अनुसार, केन्द्रमा लामो समयदेखि दोहोरो इञ्जिनको सरकार रहे पनि गोर्खाहरूको राजनीतिक मुद्दाले उचित प्राथमिकता पाउन सकेको छैन। केन्द्र सरकारले आश्वासन दिँदै आए पनि पहाडका नेताहरूको कमजोरीका कारण मुद्दा ओझेलमा परेको उनको आरोप छ।राईले वर्तमान सरकार तथा पहाडका सत्तासीन नेताहरूले जनतालाई सानातिना विषय र मनोरञ्जनमा अल्झाएर मूल मुद्दाबाट टाढा राखिरहेको आरोप लगाउँदै गोर्खाल्याण्डको मागलाई पुनः अघि बढाउन संघर्ष समितिले दबाउमूलक कार्यक्रम सञ्चालन गर्ने बताए।
हिन्दुस्थान समाचार / हनोक