
गान्तोक, 13 नोभेम्बर (हि.स.)। वन तथा पर्यावरण विभागले बाल दिवस २०२६ को अवसरमा आफ्नो प्रमुख कार्यक्रम ‘मेरो रुख, मेरो सन्तति’ अभियानलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना शुरु गरेको छ।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख वन संरक्षक (मुख्यालय) कर्मा लेग्शे डीले बाल दिवस विशेष पहलअन्तर्गत राज्यभर सञ्चालन भइरहेका विभिन्न गतिविधिबारे जानकारी दिए। उनले यी गतिविधिहरूको उद्देश्य बालबालिकामा प्रकृतिप्रति गहिरो सम्बन्ध विकास गर्नुका साथै सानै उमेरदेखि वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु रहेको बताए।
यस पहलअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम, सिक्किम शिशु समृद्धि योजनाका पासबुक वितरण, सरसफाई अभियान तथा वनसम्बन्धी कार्यहरू, विशेषगरी डढेलोको जोखिम रहेका क्षेत्रमा जनचेतनामूलक गतिविधि सञ्चालन गरिँदैछ।
यी कार्यक्रममार्फत बालबालिका तथा समुदायलाई वन संरक्षण, पारिस्थितिक सन्तुलन कायम राख्ने र पर्यावरणमैत्री व्यवहार अपनाउने महत्त्वबारे सचेत गराउने लक्ष्य राखिएको छ।
लेग्शेले यी कार्यक्रम १२ नोभेम्बरदेखि शुरु भएको र बाल दिवसको अवसर पारेर १४ नोभेम्बरसम्म सञ्चालन हुने जानकारी दिए। उनले यस पहलले बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नयाँ पुस्तामा पर्यावरणप्रतिको जिम्मेवारी र संरक्षणको भावना विकास गर्ने लक्ष्य राखेको बताए।
उनले विभागले राज्यभर ३७ वटा प्रस्तावित स्थल पहिचान गरेको र यस पहलअन्तर्गत सञ्चालन हुने विभिन्न गतिविधिमार्फत ६२० जना लाभार्थीसम्म पुग्ने लक्ष्य राखिएको पनि जानकारी दिए।
बाल दिवस विशेष कार्यक्रमहरू ‘मेरो रुख, मेरो सन्तति’ अभियानलाई थप प्रभावकारी बनाउने तथा बालबालिकामा पर्यावरणीय चेतना अभिवृद्धि गर्ने विभागको निरन्तर प्रयासको एक हिस्सा रहेको जनाइएको छ।यी गतिविधिमार्फत नयाँ पुस्तालाई रुख, वनजङ्गल तथा जैविक विविधताको महत्त्व बुझाउँदै वातावरण संरक्षण र दिगो जीवनशैलीप्रति दीर्घकालीन प्रतिबद्धता विकास गर्ने लक्ष्य विभागले राखेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल