
गान्तोक, 14 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको शिक्षा विभागले प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जयन्तीको अवसरमा १४ नोभेम्बर, २०२६ का दिन बाल दिवस समारोह आयोजना गरेको छ। गान्तोकस्थित सम्मान भवननजिकैको नेहरू पार्कमा आयोजित कार्यक्रममा बालबालिकाप्रति विशेष स्नेह र प्रेमका कारण ‘चाचा नेहरू’ का रूपमा परिचित पण्डित जवाहरलाल नेहरूलाई स्मरण गरियो।
कार्यक्रममा शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा शिक्षा विभागका प्रधान सचिव सन्दीप ताम्बे, विद्यालय शिक्षा सचिव टाशी छोपेल तथा पीसीई एवं सचिव चेतराज मिश्रलगायत विभागका निर्देशक, अधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा मुख्य अतिथि शिक्षा मन्त्री राजु बस्नेतले पण्डित जवाहरलाल नेहरूको अर्धकदको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि शिक्षा विभागका अन्य अधिकारीहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।
समारोहमा राज्यका विभिन्न सरकारी विद्यालयका करिब १०० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। मन्त्री बस्नेतले बालबालिकाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूसँग आत्मीय क्षण बिताएका थिए। साथै, उनले बालबालिकाहरूलाई मिठाई वितरण गरेपछि समारोहमा थप उत्साह र खुशी छाएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल