
गान्तोक, 14 नोभेम्बर (हि.स.)। एसडीएफ पार्टीका अध्यक्ष एवं सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले पण्डित जवाहरलाल नेहरूको जयन्तीको स्मरणमा मनाइने बाल दिवसमा सिक्किमवासीप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशमा भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले राष्ट्रको भविष्य बालबालिकाको पालनपोषण र उनीहरूको विकासमा निर्भर रहने विश्वास गरेको उल्लेख गरेका छन्। नेहरूको विरासतले राष्ट्र निर्माणको शुरुवात नयाँ पुस्तामा लगानी गरेर तथा प्रत्येक बालबालिकालाई हुर्कने, सिक्ने र आफ्नो पूर्ण क्षमता हासिल गर्ने अवसर सुनिश्चित गरेर हुने स्मरण गराउने उनले बताएका छन्।
चाम्लिङले सिक्किमका लागि मात्र नभई सम्पूर्ण भारतका लागि बालबालिका नै सबैभन्दा ठूलो लगानी हुनुपर्ने बताएका छन्। परिवार र समुदायका रूपमा बालबालिकाको उचित पालनपोषण गर्नुका साथै उनीहरूलाई शिक्षा र सशक्तीकरण प्रदान गरी प्रतिस्पर्धा गर्न, नयाँ आविष्कार गर्न र उत्कृष्टता हासिल गर्न सक्षम बनाउनुपर्ने उनको भनाइ छ। कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्राविधिक विकासले विश्वलाई तीव्र रूपमा परिवर्तन गरिरहेको वर्तमान जटिल परिस्थितिमा बालबालिकालाई समयअनुकूल सक्षम बनाउनु आवश्यक रहेको उनले बताएका छन्।
उनले सामाजिक तथा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि प्रत्येक बालबालिका गुणस्तरीय शिक्षा, समान अवसर, राम्रो स्वास्थ्य सेवा र आफ्नो परिस्थितिको सीमाभन्दा माथि उठेर सपना देख्ने स्वतन्त्रताको हकदार रहेको बताएका छन्। शिक्षा सामाजिक रूपान्तरणको सबैभन्दा शक्तिशाली माध्यम र न्यायपूर्ण तथा समानतामूलक समाजको आधार हो भन्ने विश्वासबाट प्रेरित भएर एसडीएफ सरकारले यस्ता थुप्रै पहलहरू गरेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले यस विशेष अवसरमा पण्डित नेहरूको विरासतलाई सम्मान गर्दै बालबालिकाको पालनपोषण, संरक्षण र सशक्तीकरणका लागि सामूहिक प्रतिबद्धता नवीकरण गर्न सबैलाई आह्वान गरेका छन्। उनले प्रत्येक बालबालिकाले आफ्नो पूर्ण क्षमता हासिल गर्ने अवसर पाउने तथा आत्मविश्वासी र जिम्मेवार नागरिकका रूपमा विकसित हुन सक्ने समाज निर्माण गर्ने प्रयासबाट बाल दिवस मनाउनुपर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल