ग्रामीण पत्रकारिता पुरस्कार २०२६ महेन्द्र सेवालाई प्रदान गरिने
महेन्द्र सेवा


गान्तोक, 14 नोभेम्बर (हि.स.)। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रेस क्लब अफ् सिक्किमले यस वर्षको ग्रामीण पत्रकारिता पुरस्कार फास्टेस्ट फास्ट सिक्किमका सम्पादक महेन्द्र सेवा (दर्जी) लाई प्रदान गर्ने निर्णय गरेको छ।

२०१८ देखि पत्रकारितामा सक्रिय सेवाले ग्रामीण क्षेत्रका जनसरोकार, स्थानीय समस्या, सामुदायिक विकास तथा जनचेतनाका विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएका छन्।

पत्रकारितामार्फत सामाजिक प्रभाव सिर्जना गर्ने उनको प्रयास उल्लेखनीय छ। २०२३ मा मीयोङ गाउँकी चन्नु राईको पाइलट बन्ने सपना र आर्थिक कठिनाइबारे उनले प्रस्तुत गरेको समाचारपछि राज्य सरकारले राईको शैक्षिक खर्चमा सहयोग गरेको छ।

यसैगरी, ‘खोजतलास’ अभियानमार्फत समाजमा लुकेर रहेका लगभग ५० जना प्रतिभाशाली युवाहरूलाई पहिचान गरी आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरे सकेका छन्। साहित्य, कला तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय युवाहरूलाई प्रोत्साहित गर्ने उनको यो पहल ग्रामीण पत्रकारिताको सामाजिक भूमिकाको उदाहरण बनेको छ।

ग्रामीण समुदायका आवाजलाई प्राथमिकता दिँदै पत्रकारितामार्फत सामाजिक जागरण, प्रतिभा पहिचान र प्रोत्साहनमा पुर्‍याएका योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई ग्रामीण पत्रकारिता पुरस्कार २०२६ का लागि चयन गरिएको हो।

प्रेस क्लब अफ् सिक्किम महेन्द्र सेवालाई यस उपलब्धिका लागि बधाई दिँदै आगामी दिनमा अझ सशक्त, जिम्मेवार र जनमुखी पत्रकारिताको यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande