
कोलकाता, 14 नोभेम्बर (हि.स.)। शनिवार पश्चिम बङ्गालमा मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ। राज्यका उत्तर बङ्गाल र दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा दिउँसो सफा आकाश र घामको अनुभव हुने सम्भावना छ। बिहान केही क्षेत्रहरूमा हल्का कुहिरो लाग्नसक्छ। बिहान-बेलुकी भने हल्का चिसो महसूस हुनेछ।
अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसी), भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार 14 नोभेम्बरमा दक्षिण बङ्गालको कुनै पनि जिल्ला तथा उप-हिमालय उत्तरी बङ्गालको लागि कुनै प्रकारको मौसम चेतावनी जारी गरिएको छैन। अहिलेघरि राज्यमा वर्षा एवं आँधीबेहरी आउने चेताउनी दिइएको छैन।
मौसम विभागको जिल्लागत पूर्वानुमान अनुसार कोलकाता, हावडा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व र पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद एवं नादियामा सुख्खा मौसम रहने सम्भावना छ। त्यसैगरी दार्जीलिङ, जलपाईगुडी, कुचबिहार, अलिपुरद्वार, कालेबुङ, उत्तर र दक्षिण दिनाजपुर अनि मालदामा पनि वर्षा हुने अनुमान गरिएको छैन।
कोलकाताको अलिपुर मौसम केन्द्रमा शनिवार बिहान 5ः30 बजे 23 डिग्री सेल्सियस तापक्रम अनि 95 प्रतिशत आद्रता रेकर्ड गरियो। यता बाँकुड़ामा 20.8 डिग्री सेल्सियस र मालदामा 22.2 डिग्री सेल्सियस रेकर्ड गरियो। मौसम विभागले दक्षिण बङ्गालमा आगामी दुई दिनमा न्यूनतम तापक्रम करिब दुई डिग्री सेल्सियस घट्ने पूर्वानुमान गरेको छ।
यसबीच दक्षिण-पूर्वी बङ्गालको खाड़ीमा विकसित न्यून चाप क्षेत्र अझ तीव्र हुने सम्भावना छ। मौसम विभाग अनुसार यो नोभेम्बर 14- मा स्पष्ट हुने र नोभेम्बर 15 सम्ममा डिप्रेसनमा परिणत हुने अपेक्षा गरिएको छ। त्यसपछि यो 16 नोभेम्बर साँझसम्ममा मध्य बङ्गालको खाड़ीमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। यद्यपि पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा अहिलेको लागि सुख्खा मौसमको पूर्वानुमान गरिएको छ।
हाल राज्यका जनताले वर्षाबाट राहत पाउने सम्भावना छ। मौसम विभागले बङ्गालको खाड़ीमा विकसित भइरहेको मौसमी परिस्थितिको निगरानी गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा