
पाकिम, 15 नोभेम्बर (हि.स.)। भगवान् बिरसा मुण्डाको 151औँ जयन्तीको अवसरमा मनाइने ‘जनजातीय गौरव दिवस’ तथा ‘कला उत्सव समृद्धि’ नारासहित आयोजित दुईदिने उद्भव दिवस 2026’ (ईएमआरएस राज्यस्तरीय सांस्कृतिक तथा साहित्यिक महोत्सव) आइतवार आसाम-लिङ्जेस्थित जनजातीय अनुसन्धान केन्द्रमा सम्पन्न भएको छ।
सामाज कल्याण विभागअन्तर्गत् ‘जनजातीय अनुसन्धान संस्थान तथा प्रशिक्षण केन्द्र’ (टीआरआई टीसी) द्वारा आयोजित यस महोत्सवको मुख्य उद्देश्य भगवान् बिरसा मुण्डाको विरासतलाई सम्मान गर्नुका साथै जनजातीय समुदायहरूको समृद्ध सांस्कृतिक सम्पदा, परम्परा, भाषा र साहित्यिक अभिव्यक्तिहरूको प्रवर्द्धन तथा संरक्षण गर्नु रहेको थियो। यसले राज्यभरिका ‘एकलव्य मोडल आवासीय विद्यालय’ (ईएमआरएस) का विद्यार्थीहरूलाई उनीहरूको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक ज्ञान प्रदर्शन गर्ने मञ्च पनि प्रदान गर्यो।
कार्यक्रममा समाज कल्याण विभागका मन्त्री सामडुप लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। उपस्थित जनसमूहलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले भगवान् बिरसा मुण्डाको योगदान र विरासतमाथि प्रकाश पारे। उनले सानै उमेरदेखि जनजातीय समुदायको अधिकारका लागि बिरसा मुण्डाले देखाएका साहस र प्रतिबद्धताको विशेष चर्चा गरे। लेप्चाले बिरसा मुण्डाको ऐतिहासिक ‘उलगुलान’ (विद्रोह) आन्दोलनको स्मरण गर्दै विद्यार्थीहरूलाई यस स्वतन्त्रता सेनानीको दृढ़ सङ्कल्पबाट प्रेरणा लिन आग्रह गरे। उनले विद्यार्थीहरूलाई आफ्नै अर्थपूर्ण विरासत सिर्जना गर्न र शैक्षिक अध्ययनका साथै अन्य सहपाठ्यक्रम गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गरे।
विद्यार्थीहरूलाई लगनशीलता र अनुशासनका साथ आफ्ना आकाङ्क्षाहरू पूरा गर्न प्रेरित गर्दै उनले उनीहरूलाई आफ्नो सांस्कृतिक जरासँग जोड़िएर ‘विकसित सिक्किम’ निर्माणमा योगदान पुर्याउन आग्रह गरे। यसका साथै उनले जनजातीय संस्कृति र सम्पदाको संरक्षणका लागि केन्द्र तथा राज्य सरकारद्वारा सञ्चालित विभिन्न पहलबारे जानकारी दिए र महोत्सवमा आफ्ना प्रतिभा तथा परम्परागत कलाका रूपहरू प्रदर्शन गरेकोमा सहभागीहरूको प्रशंसा गरे।
समाज कल्याण विभागकी सचिव सारिका प्रधानले यस उत्सव र यसको महत्त्वबारे जानकारी दिँदै राज्यको विविध सम्पदाको संरक्षणमा जनजाति तथा सांस्कृतिक धरोहरका संवाहकहरूले पुर्याएको योगदानको कदर गरिन्। उनले राज्यमा विभिन्न जनजाति समुदायहरूको बसोबास रहेको औँल्याउँदै उनीहरूका भाषा, रीतिरिवाज र परम्परागत ज्ञानलाई भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्ने आवश्यकतामा जोड़ दिइन्।
प्रधानले भनिन्, “राज्यस्तरीय सांस्कृतिक तथा साहित्यिक कार्यक्रम ‘उद्भव 2026’ ले सक्रिय सहभागितामार्फत परम्परागत कला र सांस्कृतिक अभ्यासहरूलाई प्रोत्साहन गर्न, प्रवर्द्धन गर्न र अझ बढ़ी उजागर गर्न खोज्छ साथै उनले जनजाति सम्पदालाई राज्यभरि चिनाउन र मनाउन विभिन्न कार्यक्रममार्फत मञ्चहरू सिर्जना गर्ने विभागका पहलहरूबारे पनि प्रकाश पारिन्। यसबाहेक, उनले ‘उद्भव दिवस’ लाई विद्यार्थीहरूलाई उनीहरूको सांस्कृतिक जरा र समुदायको समृद्ध सम्पदासँग पुनः जोड्ने एउटा प्रयासको रूपमा व्याख्या गरिन्।
दुईदिने यस महोत्सवमा तर्क, वाकपटुता, कविता वाचन, परम्परागत कथा वाचन, नाटक, हाजिरी-जवाफ, सामूहिक नृत्य, क्षेत्रीय लोकनृत्य, एकल नृत्य, एकल गायन, सामूहिक वाद्यवादन, दृश्य कला र चित्रकला लगायतका विभिन्न साहित्यिक, सांस्कृतिक तथा सिर्जनात्मक प्रतियोगिताहरू समावेश थिए।
कार्यक्रममा ‘कम्प्रेहेन्सिभ हेल्थ स्टडी अफ ट्राइबल स्टुडेन्ट्स’ नामक पुस्तकको विमोचन पनि गरियो। यो जनजाति विद्यार्थीहरूको स्वास्थ्य र कल्याणमा केन्द्रित एक अनुसन्धानमा आधारित पहल हो। यस अध्ययनले उनीहरूको स्वास्थ्यसम्बन्धी आवश्यकताहरूबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्ने र उनीहरूको समग्र विकास तथा कल्याणका लागि तथ्यमा आधारित योजना तर्जुमा गर्न तथा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस उत्सवको एक भागका रूपमा ‘बिरसा मुण्डा उपवन’ पहलअन्तर्गत टीआरआई, आसाम-लिङ्जेको परिसरमा बिरुवा रोपन कार्यक्रम आयोजना गरियो। यो कार्य पर्यावरणीय संरक्षणप्रतिको प्रतिबद्धता र भगवान् बिरसा मुण्डाको चिरस्थायी विरासतको प्रतीक हो।
ईएमआरएस विद्यालयका विजेता तथा सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेसँगै यो उत्सव सम्पन्न भयो।
उल्लेखनीय छ, जनजातीय गौरव दिवस मनाउने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका ‘ट्राइबल रिसर्च इन्स्टिट्युट’ (टीआरआई) हरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल