सांसद देउसी-भैली महोत्सवले गोर्खा-नेपाली सांस्कृतिक एकता र पहिचानलाई नयाँ उचाइ दिएको छ : भाजपा सिक्किम
देउसी-भैली महोत्सव


गान्तोक, 15 नोभेम्बर (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टको विशेष पहलमा सिलगढीमा आयोजित तीन दिवसीय भव्य सांसद देउसी-भैली महोत्सवको दोस्रो दिन भारतीय जनता पार्टी, सिक्किमका अध्यक्ष डीआर थापा साथै पार्टी प्रतिनिधिहरूले सहभागिता जनाउँदै कार्यक्रमप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। सिक्किम, दार्जिलिङ, तराई तथा देशका विभिन्न राज्यहरूमा बसोबास गर्ने गोर्खा समुदायका परम्परागत देउसी-भैली समूह, सांस्कृतिक टोली, ख्यातिप्राप्त कलाकार तथा नवोदित प्रतिभाहरूलाई एउटै साझा मञ्चमा आफ्नो कला, संस्कृति र मौलिक परम्परा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु यस महोत्सवको अत्यन्त प्रशंसनीय पक्ष रहेको भाजपा सिक्किमले बताएको छ।

भाजपा सिक्किमले प्रेस विज्ञप्तिमा भनेको छ, यस महोत्सवले हाम्रो समृद्ध लोकसंस्कृति, लोकभाका, मौलिक संगीत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतलाई व्यापक पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। हाम्रो गोर्खा-नेपाली संस्कृति केवल चाडपर्व र उत्सवमा मात्र सीमित नभई हाम्रो इतिहास, सभ्यता, सामाजिक सद्भाव र सामूहिक पहिचानको अभिन्न आधार हो। यस्ता वृहत् सांस्कृतिक समागमले विभिन्न भूगोल र राज्यमा छरिएर रहेका गोर्खा समुदायलाई एउटै सांस्कृतिक सूत्रमा जोड्दै आपसी एकता, भाइचारा र आत्मीयतालाई अझ प्रगाढ बनाउनका साथै नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानप्रति गर्व गर्ने भावना जागृत गराउँछन्।

यति भव्य, व्यवस्थित र अर्थपूर्ण सांस्कृतिक महोत्सवको परिकल्पना गरी त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा भाजपा सिक्किमले सांसद राजु विष्ट तथा सम्पूर्ण आयोजक समिति, सहयोगी एवं स्वयंसेवक परिवारलाई हार्दिक बधाई तथा विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, आफ्नो कला र प्रस्तुतिमार्फत महोत्सवलाई स्मरणीय बनाउने सम्पूर्ण कलाकार, सांस्कृतिक समूह र सहभागीहरूको प्रशंसा गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande