सिक्किममा अखिल भारतीय न्यायाधीश ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने
सिक्किममा अखिल भारतीय न्यायाधीश ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने


गान्तोक, 17 नोभेम्बर (हि.स.)। सिक्किमले अप्रेल-मई 2027 मा तेस्रो अखिल भारतीय न्यायाधीश ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ। यस प्रतिष्ठित राष्ट्रियस्तरको प्रतियोगिता गान्तोकमा आयोजना गरिनेछ। उक्त जानकारी ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका महासचिव सुकान्त दासले आज प्रेस विज्ञप्तिमा दिएका छन्।

ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किम (बीएएस) का अध्यक्ष जेकब खालिङको नेतृत्वमा गएको कार्यकारी प्रतिनिधिमण्डलले हिजो सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुस्ताकसँग शिष्टाचार भेट गरेको छ। भेटका क्रममा मुख्य न्यायाधीशले २०२७ मा गान्तोकमा आयोजना हुने तेस्रो अखिल भारतीय न्यायाधीश ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन तथा आयोजनामा सहयोग गर्न बीएएसलाई औपचारिक रूपमा आग्रह गरेका थिए। प्रतिनिधिमण्डलले यस जिम्मेवारीलाई उत्साहपूर्वक स्वीकार गर्दै राज्यका लागि यस्तो प्रतिष्ठित राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर गौरवको विषय रहेको बताएको छ।

भेटमा प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय तयारी, पूर्वाधार, सञ्चालन तथा अन्य प्राविधिक पक्षहरूबारे प्रारम्भिक छलफलसमेत गरिएको थियो। बीएएसले भेटका लागि समय प्रदान गर्नुका साथै अमूल्य मार्गदर्शन, सहयोग र प्रोत्साहन प्रदान गरेकोमा मुख्य न्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुस्ताकप्रति हार्दिक आभार व्यक्त गरेको छ।

बीएएसले प्रतियोगिताको आयोजक बन्न पाउनु सिक्किमका लागि ठूलो गौरवको विषय रहेको जनाएको छ। यस प्रतियोगिताले भारतीय न्यायपालिकाका सदस्यहरूबीच आपसी सद्भाव, मित्रता र खेलभावना अभिवृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै प्रमुख खेलकुद आयोजनाका लागि उपयुक्त गन्तव्यका रूपमा सिक्किमको पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

बीएएसले प्रतियोगिताको तयारी तथा समन्वय कार्यलाई अघि बढाउन उत्सुकता व्यक्त गर्दै देशभरिका न्यायिक प्रतिनिधिहरूलाई सिक्किमको प्राकृतिक सौन्दर्यको अनुभव लिन हार्दिक निमन्त्रणा दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande