
खरसाङ 17 नोभेम्बर (हि.स.)। दार्जिलिङ पुलिसको आयोजनामा दार्जिलिङमा भइरहेको टी ईस्टा फेस्ट अन्तर्गत खरसाङ क्षेत्रमा पनि विशेष ट्रेकिङ कार्यक्रम आयोजना गरिने भएको छ। आगामी 29 नोभेम्बरका दिन आयोजना हुने उक्त कार्यक्रमलाई ‘डी हाईक’ नाम दिइएको छ।
खरसाङको ऐतिहासिक सम्पदा, प्राकृतिक सौन्दर्य तथा चिया बगानमा आधारित पर्यटनको विकास गर्ने उद्देश्यले स्थानीय युवाहरूद्वारा गठित संस्था ‘लोकल ट्रेकर्स’ को तत्वावधानमा यो ट्रेकिङ कार्यक्रमको आयोजना हुने भएको छ। कार्यक्रमको तयारीलाई लिएर खरसाङस्थित एक क्याफेमा संस्थाका सदस्यहरूको आज पहिलो बैठक सम्पन्न भयो।
उक्त बैठकमा सम्पूर्ण टोलीको उपस्थितिमा ट्रेकिङको रुट म्याप, सहभागीहरूको सुरक्षाका लागि आवश्यक मेडिकल सुविधा तथा कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न पक्षमा छलफल गरिएको थियो। यसका साथै कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूलाई निमन्त्रणा दिने विषयमा पनि सरसल्लाह गरियो।
लोकल ट्रेकर्सका संस्थापक नर्बु छिरिङ शेर्पाले कार्यक्रमको तयारीबारे विस्तृत जानकारी दिँदै यसले खरसाङको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। स्थानीय युवाहरूको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस कार्यक्रमले खरसाङका प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूलाई थप परिचित गराउने अपेक्षा गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक