
-6 जना प्रवर्तन अधिकारीहरूलाई पहिला नै निलम्बित गरिसकिएको छ
मिनी बस र कन्टेनर ट्रकको ठक्करमा 26 जना मानिसहरूको मृत्यु
- अतिरिक्त मुख्य सचिवले दुई साताभित्रमा रिपोर्ट सुम्पिने
गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। असम सरकारले काजीरङ्गा राष्ट्रिय निकुञ्ज नजिकै रङ्गाजनमा गत 13 नोभेम्बरमा भएको घातक सड़क दुर्घटनाको उच्चस्तरीय जाँच गर्ने आदेश दिएको छ। यस दुर्घटनामा 26 जना मानिसहरूको मृत्यु भएको थियो भने 20 जना घाइते भएका थिए। प्रशासनिक निगरानीमा कथित लापरवाही गरेको आरोपमा गोलाघाट जिल्ला यातायात अधिकारी (डीटीओ) राजीव पेगुलाई निलम्बित गरिएको छ। यसअघि गोलाघाट प्रशासनले पनि 6 जना प्रवर्तन अधिकारीहरूलाई निलम्बन गरिसकेको छ।
मुख्यमन्त्री कार्यालय (सीएमओ)- ले सोमलार जारी गरेको आदेश अनुसार आईएएस अधिकारी तथा अतिरिक्त मुख्य सचिव केसी समारियाले अनुसन्धानको नेतृत्व गर्नेछन्। उनीहरूलाई दुई साताभित्रमा रिपोर्ट पेश गर्न निर्देश दिइएको छ। अनुसन्धानमा दुर्घटनाको कारणसँगै जिम्मेवारी निर्धारण गरिनेछ तथा प्रशासनिक स्तरमा कुनै त्रुटि वा लापरवाही भएको छ कि छैन, त्यसको पत्तो लगाइनेछ।
सीएमओ अनुसार गोलाघाटका डीटीओ राजीव पेगुलाई प्रशासनिक निगरानी एवं नियम पालनलाई सुनिश्चित गर्नमा असफल भएको आरोपमा निलम्बन गरिएको हो।
उल्लेख्य, गत नोभेम्बर 13- मा काजीरङ्गा राष्ट्रिय निकुञ्ज नजिकै रङ्गाजानमा एउटा मिनी बस कन्टेनर ट्रकसँग ठोक्किएको थियो। दुर्घटना यति भयानक थियो कि महिला र बाल-बालिका सहित 26 जनाको मृत्यु भएको थियो भने अन्य 20 जना घाइते भएका थिए।
घाइतेमध्ये करिब 15 जनाको अझै उपचार भइरहेको छ। एकजनालाई डिब्रुगढ़को असम मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको छ भने अन्यको जोरहाट मेडिकल कलेज एवं अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि मुख्यमन्त्री डा. हिमन्ता विश्व सरमाले मृतकका आफन्तलाई 9 लाख रुपियाँ दिने घोषणा गरेका थिए। यस रकममा केन्द्र सरकारको दुई लाख रुपियाँको सहायता पनि समावेश छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा