
गान्तोक, १७ नोभेम्बर (हि.स.)। गान्तोकको देवराली बजारस्थित रोपवेमा आज ‘रोपवे आपदा सुरक्षा’ सम्बन्धी कृत्रिम अभ्यास (मक-ड्रिल) सम्पन्न भयो। जिल्ला आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए), गान्तोकले दामोदर रोपवेज एण्ड इन्फ्रा लिमिटेड, देवरालीसँगको सहकार्यमा आयोजना गरेको यस अभ्यासको उद्देश्य रोपवे आपदाको आपतकालीन अवस्थामा विभिन्न निकायको तयारी, उद्धार क्षमता तथा आपसी समन्वयको मूल्याङ्कन गर्नु रहेको थियो।
अभ्यासका क्रममा देवराली ट्याक्सी स्ट्यान्ड नजिक रोपवेको एउटा डिब्बा बीचमै अड्किएर त्यसमा सवार यात्रुहरू फसेको काल्पनिक परिस्थिति सिर्जना गरिएको थियो। त्यसपछि नामनाङस्थित बिग बजार क्षेत्रमा विशेष उद्धार अभियान सञ्चालन गरिएको थियो। यस अभ्यासमा दामोदर रोपवेज, राष्ट्रिय आपदा प्रतिकार्य बल (एनडीआरएफ), राज्य आपदा प्रतिकार्य बल (एसडीआरएफ), अग्निशमन तथा आपत्कालीन सेवा, वन तथा वातावरण विभाग र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
अभ्यासअन्तर्गत दामोदर रोपवेजले सर्वप्रथम आपतकालीन प्रतिकार्य प्रक्रिया शुरु गर्दै नियन्त्रण कक्षलाई घटनाबारे जानकारी गराएको थियो। त्यसपछि सम्बन्धित सबै निकायलाई सूचित गरी एसडीआरएफ र एनडीआरएफका उद्धार टोली परिचालन गरियो। अग्निशमन तथा वन विभागले पनि उद्धार कार्यमा सहयोग पुर्याएका थिए। देवराली रोपवे क्षेत्रमा एसडीआरएफले उद्धार अभियानको नेतृत्व गरेको थियो भने नामनाङस्थित बिग बजारमा एनडीआरएफले विशेष उद्धार कार्य सञ्चालन गरेको थियो।
यसै क्रममा उद्धारस्थल नजिकै मणिपालस्थित सीआरएचको स्वास्थ्य टोलीले स्वास्थ्य शिविर स्थापना गरी उद्धार गरिएका यात्रुहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै उनीहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेको थियो। अभ्यासमा सहभागी सबै काल्पनिक पीडितलाई सुरक्षित रूपमा उद्धार गरी आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो।
यस अभ्यासले आपतकालीन सूचना सम्प्रेषण, स्रोतसाधन परिचालन, उद्धार कार्य, स्वास्थ्य सहायता, यातायात तथा पार्किङ व्यवस्थापन, जनचेतना र विभिन्न निकायबीचको समन्वयलगायतका विषयमा सम्बन्धित निकायहरूको भूमिका र जिम्मेवारीलाई समेत उजागर गरेको थियो।
हिन्दुस्थान समाचार / बिशाल