पवनदिप राजन र पूर्ण राईले पाल्जोर स्टेडियममा साङ्गीतिक प्रस्तुति दिने
पवनदिप राजन र पूर्ण राईले पाल्जोर स्टेडियममा साङ्गीतिक प्रस्तुति दिने


गान्तोक, 17 नोभेम्बर (हि.स.)। 49औं योनेक्स-सनराइज जूनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप 2026 को समापन समारोहमा भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ। यस अवसरमा चर्चित भारतीय पार्श्व गायक एवं सङ्गीतकार पवनदीप राजन र नेपाली सङ्गीत जगतका चर्चित गायक पूर्ण राईले आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रम आयोजन समितिका अध्यक्ष बिकास बस्नेतले आज पाल्जोर स्टेडियममा आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। उनले सिक्किममा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना भइरहेको जानकारी गराउॅंदै यो सिक्किमको लागि गर्वको विषय रहेको बताए। यस प्रतियोगिताले सिक्किमका खेलाडीहरूलाई प्रोत्साहित गर्नुका साथै राष्ट्रियस्तरमा सिक्किमको नाम रोशन भइरहेको बताए।

उनले यस कार्यक्रमको भव्य समापनका लागि आगामी 21 नोभेम्बरमा पाल्जोर स्टेडियममा साङ्गीतिक कार्यक्रम आयोजना गरिने बताए। साङ्गीतिक कार्यक्रममा चर्चितद्वय गायक पवनदीप राजन र पूर्ण राईले आफ्नो प्रस्तुति दिनेछन्। उनले 49औं योनेक्स-सनराइज जूनियर नेशनल ब्याडमिन्टन च्याम्पियनशिप 2026 दिउॅंसो दुई बजीसम्ममा समाप्त हुने र त्यसपछि 4:30 बजीदेखि साङ्गीतिक कार्यक्रम शुरू हुने जानकारी गराए।

अध्यक्ष बस्नेतले कार्यक्रममा प्रवेश पूर्ण रूपमा नि:शुल्क रहने अवगत गराउॅंदै सबैलाई उपस्थित भएर मनोरञ्जन लिइदिन आह्वान गरे। साथै, उनले पाल्जोर स्टेडियमको भीआईपी, फिसपन्ड ग्यालरी र नर्दन ग्यालरीमा साङ्गीतिक प्रेमीहरूले सशुल्क प्रवेश लिएर कार्यक्रमका आनन्द लिन सक्ने बताए। उनले ग्रीन टर्फ एरिया (खेल मैदान) मा भने प्रवेश नि:शुल्क रहने बताए। उनले उक्त दिन मुख्यमन्त्रीले एउटा विशेष घोषणा पनि गर्ने बताए, जसको खुलासा सोही दिने गरिने छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande