
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। दिल्लीका लोक निर्माण तथा जल विभागका मन्त्री परवेश साहिब सिंहले भने, 'शीश महल'- लाई आगामी हप्तादेखि सर्वसाधारणका लागि खोलिँदैछ। टिकट बुकिङ्ग र रिजर्भेशन जस्ता व्यवस्थाहरूको बारेमा चाँड़ै नै जानकारी साझा गरिनेछ।
परवेश साहिब सिंहले मङ्गलवार दिल्ली सचिवालयमा सम्वाददाता सम्मेलनमा भने, पहिलो भ्रमण पत्रकारहरूका लागि आयोजना गरिने छ। यो आगामी दुई-तीन दिनभित्रमा हुनेछ जसको बारेमा भोलि तपाईँहरूले जानकारी पाउनुहुनेछ। हामी पहिला देशको मिडियालाई शीश महल देखाउनेछौँ। उनले आम आदमी पार्टी (आआप)- का संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि प्रहार गर्दै भने, जुन व्यक्तिले एक समयमा बङ्गलोमा नबस्ने तथा कार नराख्ने दाबी गरेका थिए उसैले केही बङ्गलोहरू, सर्भेन्ट क्वार्टरहरू तथा ग्यारेजहरूलाई भत्काएर 'शीश महल' निर्माण गरे।
मन्त्री परवेश साहिब सिंहले भने, जनतालाई 'शीश महल'- को एउटा कोठा मात्र देखाइएको थियो जसमा शहीद-ए-आजम भगत सिंह र बाबा साहेब भीमराव अम्बेडकरको तस्वीर राखिएको थियो, त्यो पनि देखाउनको लागि मात्र। मानिसहरूलाई फोटो मार्फत एउटा कोठा मात्र देखाइयो जबकि कसैलाई पनि परिसरभित्र प्रवेश गर्ने अनुमति थिएन।
उनले भने, अब मानिसहरूले आफै देख्न सक्नेछन् कि भित्रका हरेक कोठामा स्मार्ट बत्तीहरू छन् जसलाई रिमोट कन्ट्रोलद्वारा परिवर्तन गर्न सकिन्छ- गुलाबी, नीलो, खैरो र कालो। त्यहाँ करोडौँ रुपियाँका पर्दाहरू लगाइएको छ भने भियतनामी सङ्गमरमर प्रयोग गरिएको छ। सिंहले भने, अब जनताले सम्पूर्ण परिसरमा गएर आफ्नै आँखाले सबै कुरा हेर्न सक्नेछन्। भ्रष्टाचारको सबैभन्दा ठूलो उदाहरण 'शीश महल' अब दिल्लीमा आम जनताका लागि खोलिन लागेको छ।
सिंहले दाबी गरे, राष्ट्रिय राजधानी भएर बग्ने यमुनाको 52 किलोमिटर लामो भागमा कतै पनि फिज छैन। ओखला ब्यारेज नजिक जहाँ पनि यस्तो समस्या देखिन्छ, त्यसलाई सुल्झाउनको लागि सरकारले उत्तर प्रदेशसँग वार्ता गरिरहेको छ।
मन्त्री परवेश साहिब सिंहले आआपका ती आरोपहरूलाई खारेज गरे जसमा भनिएको छ, भक्तहरूलाई यस्तो ठाउँमा छठ पूजा मनाउन बाध्य बनाइयो जहाँ नदीमा फिज भरिएको थियो। उनले भने, छठ पूर्ण भक्तिभावको साथमा मनाइयो भने लाखौँ जनता तयारीबाट निकै खुसी भएका थिए। भारतीय जनता पार्टीले पूर्वाञ्चली जनताको मन जितेको देखेर आआपलाई समस्या भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा