
गान्तोक, १७ नोभेम्बर (हि.स.)। सिक्किम युथ वेलफेयर एसोसिएसन (एसवाईडब्ल्यूए) का नौ सदस्यलाई समाजप्रति पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै राक्दोङ तिन्तेकस्थित ली अल डेस्टिट्युट होमले सम्मान गरेको छ। उक्त जानकारी एसवाईडब्ल्यूएका संस्थापक रबिन राईले आज प्रेस विज्ञप्तिमा दिएका छन्।
एसवाईडब्ल्यूएको लागुऔषधविरोधी अभियान तथा मानसिक रूपमा संवेदनशील र बेसहारा महिलाहरूलाई आश्रय, हेरचाह, सम्मान र सुरक्षित वातावरण उपलब्ध गराउने कार्यमा पुर्याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुने नौ सदस्यहरूमा मिन्तोक डोल्मा लासोपा, जिना तामाङ, जोश्या राई, डिकी तामाङ, सिसिर गुरुङ, पारु गुरुङ, दिकिला लासोपा, मीना गुरुङ र रबिन राई रहेका छन्।
संस्थाका संस्थापक रबिन राईले संस्थाका सम्पूर्ण सदस्य तथा कार्यकारी समितिका तर्फबाट ली अल डेस्टिट्युट होमप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले संस्थाका सदस्य तथा सङ्गठनले समाजमा पुर्याएको योगदानको पहिचान र कदर गरेकोमा होमको सम्पूर्ण कार्यकारी समितिलाई धन्यवाद दिएका छन्।
उनले ली अल डेस्टिट्युट होमकी अध्यक्ष पासाङ्कित लेप्चाप्रति विशेष आभार व्यक्त गर्दै उनको विचारशील पहल र प्रोत्साहनको प्रशंसा गरेका छन्। यस्तो सम्मान सामान्य रूपमा प्रदान गरिए पनि यसले संस्थाका सदस्यहरूलाई ठूलो हौसला र प्रेरणा प्रदान गर्ने उल्लेख गर्दै उनले समाज तथा जनताको कल्याणका लागि अझ बढी समर्पण, इमानदारी र जिम्मेवारीका साथ कार्य गर्न प्रेरित गर्ने बताएका छन्।
उनले सामाजिक सेवा सम्मान वा पुरस्कार प्राप्त गर्ने उद्देश्यले नभई मानवता, करुणा र सहयोगको आवश्यकता भएकाहरूप्रतिको दायित्व निर्वाह गर्ने माध्यम भएको एसोसिएसनको विश्वास रहेको बताएका छन्। यद्यपि, अन्य सामाजिक संस्थाबाट प्राप्त हुने प्रशंसाले आफ्नो अभियानलाई नयाँ उत्साह र प्रतिबद्धताका साथ निरन्तरता दिन प्रेरित गर्ने उनको भनाइ छ।
हिन्दुस्थान समाचार / बिशाल