असममा परिवहन वाहनहरूको लागि स्पीड लिमिटर अनिवार्य, नियम उल्लङ्घन गर्नेहरूको फिटनेस प्रमाणपत्र रद्द गरिने
Representative Image.


गुवाहाटी, 19 नोभेम्बर (हि.स.)। असममा सड़क दुर्घटना तथा द्रुत गतिको कारणले हुने घटनाहरूलाई नियन्त्रण गर्नको लागि राज्य सरकारले परिवहन वाहनहरूमा स्पीड लिमिटर जड़ान गर्न अनिवार्य बनाएको छ। यातायात विभागले यस सम्बन्धमा नयाँ मानक सञ्चालन प्रक्रिया (एसओपी) जारी गरेको छ।

नयाँ दिशानिर्देश अनुसार केन्द्रिय मोटर वाहन नियम- 1989 को नियम 118 अन्तर्गत पर्ने सबै नयाँ र पुराना परिवहन वाहनहरूमा स्वीकृत तथा कार्यशील लिमिटर जड़ान गर्न अनिवार्य हुनेछ।

स्पिड लिमिटरहरू नलगाएका सवारी साधनहरूलाई फिटनेस प्रमाणपत्र जारी गरिने छैन, न त तिनीहरूको फिटनेस प्रमाणपत्र नवीकरण गरिनेछ। नियमहरू पालना नभएसम्म त्यस्ता सवारी साधनहरूको अनुमति पनि रोक्न सक्छ।

तथापि दुई चक्के, तीन चक्के, क्वाड्रिसाइकल, दमकल वाहन, एम्बुलेन्स तथा पुलिस वाहनलाई यस अनिवार्यताबाट छुट दिइएको छ।

पुराना सवारी साधनहरूमा अधिकृत डिलर र केन्द्रहरूको माध्यमबाट स्पिड लिमिटर जड़ान गर्नुपर्नेछ। वाहन पोर्टलमा उपकरणको सिलिङ्ग, पहिचान स्टिकर र वाहनको जियो-लोकेशन फोटो अपलोड गर्नु अनिवार्य हुनेछ।

फिटनेस जाँचको क्रममा स्पिड लिमिटरको भौतिक निरीक्षण पनि गरिनेछ। परिवहन विभाग अनि ट्राफिक पुलिसले राष्ट्रिय राजमार्ग सहित विभिन्न मार्गमा नियमित जाँच अभियान सञ्चालन गर्नेछ।

नियमहरूको उल्लङ्घन गर्ने वा स्पीड लिमिटरसित छेड़छाड़ गर्ने वाहनहरूविरूद्ध फिटनेस प्रमाणपत्र र परमिट निलम्बन गर्ने सहित मोटर वाहन अधिनियम 1988 अन्तर्गत कानुनी कारबाही गर्न सकिन्छ।।

यो एसओपी तत्काल प्रभावबाट लागू गरिएको छ। जिल्ला यातायात अधिकारीहरूलाई यसको अनुपालनको निगरानी गर्ने अनि प्रत्येक हप्तामा प्रतिवेदन पेश गर्न निर्देश दिइएको छ।

स्मरणीय छ, काजीरङ्गामा हालै भएको भीषण सड़क दुर्घटनामा 26 जनाको मृत्यु र 15 जना घाइते भएपछि राज्यमा सड़क सुरक्षा सम्बन्धी धेरै वटा कदमहरू चालिँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande