खरसाङमा २९ नोभेम्बरमा ‘डी-हाइक’ आयोजना हुने
खरसाङमा २९ नोभेम्बरमा ‘डी-हाइक’ को आयोजना हुने


खरसाङ, १९ नोभेम्बर (हि.स.)। दार्जिलिङ पुलिसद्वारा आयोजित टी इस्टा फेस्टअन्तर्गत आगामी २९ नोभेम्बरमा खरसाङमा ‘डी-हाइक’ आयोजना हुने भएको छ। यसबारे बिहीबार प्रेस क्लब अफ खरसाङमा आयोजक संस्था ‘लोकल ट्रेकर्स’ ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

संस्थापक नर्बु छिरिङ शेर्पाका अनुसार, करिब ६ किलोमिटर लामो उक्त पदयात्रा बिहान ७ बजी खरसाङ रेलवे स्टेसनबाट शुरु हुनेछ। नयाँ बजार, न्यु रोड र थाना हुँदै ऐतिहासिक क्यासेलटन चिया कारखाना पुग्ने पदयात्रीलाई त्यहाँको इतिहास र महत्त्वबारे जानकारी गराइनेछ। त्यसपछि स्प्रिङ साइड हुँदै चियाबारीको मनोरम दृश्य अवलोकन गर्दै लभ रोडमा पदयात्रा सम्पन्न हुनेछ।

पदयात्रामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। सहभागीहरूका लागि चिया, खाजा तथा प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

पहाडलाई नशामुक्त बनाउने अभियानमा युवाहरूलाई जोड्नुका साथै खरसाङको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको शेर्पाले बताए।

आयोजकले स्थानीय युवावर्ग, खरसाङवासी तथा पर्यटकहरूलाई कार्यक्रममा सहभागी बन्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande