
खरसाङ, १९ नोभेम्बर (हि.स.)। इन्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट (आईडीआरएफ) पार्टीको पश्चिम बंगाल अध्यक्ष कृष्ण क्षेत्री, महासचिव अनिल रोका र तोक्देन लेप्चासहितको टोलीले वार्ताकार पंकज कुमार सिंहसँग भेट गरी गोर्खा जातिसँग सम्बन्धित विभिन्न राजनीतिक तथा विकासका मुद्दाहरूबारे छलफल गरेको छ।
भेटका क्रममा पहाडी क्षेत्र, डुवर्स र तराई समेटिएको गोर्खाल्याण्डको माग, जीटीए खारेज गर्ने विषय तथा पीपीएसको स्वरूप र कार्यान्वयनबारे प्रश्न उठाइएको पार्टीले जनाएको छ।
अध्यक्ष कृष्ण छेत्रीले सांसद राजु विष्टले चुनाउलगत्तै जीटीए खारेज हुने अभिव्यक्ति दिएको भए पनि त्यसको कार्यान्वयन किन नभएको भन्दै प्रश्न गरे। साथै, पीपीएस के हो र कहिलेसम्म पूरा हुन्छ भन्ने विषयमा पनि स्पष्टता माग गरिएको बताइएको छ।
पार्टीका अनुसार, वार्ताकार सिंहले २०२७ सम्ममा यस विषयमा केही प्रगति हुने जानकारी दिएका छन्। छेत्रीले गोर्खा युवायुवती रोजगारीका लागि अन्य राज्य जानुपर्ने बाध्यता र आफ्नै देशमा विदेशीसरह व्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले गोर्खा जातिको सम्मान, अधिकार र समग्र उन्नतिका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक