
खरसाङ, 19 नोभेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) खरसाङ टाउन कमिटीले बजार तथा नगरपालिकाअन्तर्गतका विभिन्न समस्याहरू समाधानको माग गर्दै नगरपालिका प्रशासक डेन्डुप भोटियालाई ज्ञापन पत्र बुझाएको छ।
टाउन कमिटी अध्यक्ष बीरबल पाख्रिनको नेतृत्वमा बुझाइएको ज्ञापनमा वार्ड नम्बर १ देखि २० सम्मका विभिन्न स्थानमा स्ट्रिट लाइट नबल्दा स्थानीयवासीले भोग्नुपरेको समस्यालाई प्रमुखताका साथ उठाइएको छ। यसअघि पनि ज्ञापन बुझाउँदा समस्या समाधान नभएपछि पुनः ध्यानाकर्षण गराइएको अध्यक्ष पाख्रिनले बताए।
यसैगरी, मूल सचिव राजु सेवाले बजारमा दुईचक्के सवारीसाधनका लागि पर्याप्त पार्किङ व्यवस्था नहुँदा फुटपाथसमेत अवरुद्ध हुने गरेको तथा उचित फोहोर व्यवस्थापनको अभावमा बाँदरको उपद्रव बढिरहेको बताए।
जवाफमा प्रशासक भोटियाले स्ट्रिट लाइट मर्मत भइरहेको र सौर्य बत्ती जडानको पहल भइरहेको जानकारी दिए। उनले पार्किङका लागि पाँचवटा स्थान चिन्हित गरिएको भए पनि कार्यान्वयनमा ढिलाइ भएको बताए। बाँदरको समस्या समाधानका लागि वन विभागसँग समन्वय गर्नुपर्ने पनि उनले उल्लेख गरे।अध्यक्ष पाख्रिनले जनसाधारणका समस्या समाधानका लागि टाउन कमिटी सदैव तत्पर रहने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक