कोल्थाङमा नवनिर्मित सिक्किम गरीब आवास योजनाको घर उद्घाटन
कोल्थाङमा नवनिर्मित सिक्किम गरीब आवास योजनाको घर उद्घाटन


गान्तोक, 19 नोभेम्बर (हि.स.)। मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले बिहीबार सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत नाम्ची जिल्लाको अपर कोल्थाङमा नवनिर्मित घरको उद्घाटन गरे। उक्त घर राङगाङ-याङगाङ निर्वाचन क्षेत्रकी लाभार्थी निम डेम भोटियाका लागि निर्माण गरिएको हो।

यस अवसरमा लाभार्थी निम डेम भोटियाले सुरक्षित र सम्मानजनक आवासको आफ्नो सपना पूरा गरिदिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा क्षेत्र विधायक राजकुमारी थापाप्रति हार्दिक आभार व्यक्त गरिन्।

उद्घाटन कार्यक्रममा याङगाङ खण्ड विकास अधिकारी निडे भोटिया, पञ्चायत अध्यक्ष विष्णु निरौला, पञ्चायत सदस्यहरू, पार्टीका कार्यकर्ताहरू, खण्ड प्रशासनिक केन्द्र (बीएसी) का कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा राजनीतिक सचिव विकास बस्नेतले एसजीएवाई योजनाले सिक्किमका विभिन्न परिवारमा खुशी, सम्मान र सुरक्षाको अनुभूति दिलाउँदै उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको देख्दा खुशी लागेको बताए। उनले लाभार्थी तथा उनको परिवारलाई बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande