
गेजिङ, 19 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको खाद्य प्रशोधन उद्योग विभागद्वारा आयोजित तीनदिने ‘सिक्किम अर्गानिक फुड समिट २०२६’ बिहीबार गेजिङस्थित सामुदायिक भवन परिसरमा दोस्रो दिनका गतिविधिसहित जारी रह्यो। यस सम्मेलनको उद्देश्य स्थानीय जैविक खाद्य उत्पादनको मूल्य अभिवृद्धि, उद्यमशीलताको प्रोत्साहन तथा बजारका सम्भावनाहरूको खोजी गर्नु रहेको बताइएको छ।
कार्यक्रमस्थलमा विभिन्न सरकारी विभाग, स्थानीय उद्यमी, कृषक, स्वयं सहायता समूह तथा सार्वजनिक क्षेत्रका उपक्रमहरूको सहभागितामा जम्मा २५ वटा प्रदर्शनी स्टल स्थापना गरेका छन्। ती स्टलहरूमा विभिन्न जैविक कृषि तथा बागवानी उत्पादनका साथै स्थानीय स्रोतबाट तयार पारिएका खाद्य परिकारहरूको प्रत्यक्ष बिक्री तथा प्रदर्शन गरिएको छ।
गेजिङका एडीसी (मुख्यालय) तृप्ति हाङ्मा सुब्बा र एडीसी, गेजि सुरेश राईले खाद्य प्रशोधन उद्योग विभागकी सचिव ज्योत्स्ना एम. कार्थक तथा संयुक्त सचिव नविता प्रधानसँगै प्रदर्शनी स्टलहरूको अवलोकन गरे। भ्रमणका क्रममा गेजिङ नगर पञ्चायत तथा गेजिङका सम्बन्धित अधिकारीहरू पनि उपस्थित थिए।
अधिकारीहरूले प्रदर्शकहरूसँग अन्तरक्रिया गर्दै प्रदर्शनमा राखिएका उत्पादनहरूप्रति चासो व्यक्त गरे। उनीहरूले सहभागीहरूलाई विभिन्न माध्यमबाट प्रोत्साहितसमेत गरे।
प्रदर्शकहरूमध्ये नाम्चीस्थित सिक्किम प्रगतिशील नारी सहकारी संस्थाले कोदो, फापर तथा मकैको पिठो प्रदर्शन गरेको थियो। यसले परम्परागत खाद्यान्न तथा जैविक उत्पादनको प्रवर्द्धनमा सहकारी संस्थाहरूले निर्वाह गरिरहेको भूमिकालाई उजागर गरेको थियो।
त्यसैगरी, उत्तरेस्थित याम ट्राउट फार्मले स्थानीय जलकृषिको सम्भावना प्रस्तुत गर्दै इन्द्रेणी ट्राउट माछाबाट तयार पारिएका विभिन्न परिकारहरू प्रदर्शन गरेको थियो। यसमा ट्राउट मःम, फ्राइड ट्राउट तथा ट्राउट चिलीलगायतका परिकार समावेश थिए।
यस सम्मेलनले खाद्य प्रशोधन क्षेत्रको विकासलाई थप गति दिन उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङ सुधार, लगानी आकर्षित गर्ने र विभिन्न विभागबीचको समन्वय सुदृढ बनाउने उद्देश्यसमेत राखेको छ।
तीनदिने ‘सिक्किम अर्गानिक फुड समिट २०२६’ २० नोभेम्बरमा सम्पन्न हुनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल