राज्यपालद्वारा पाकिम जिल्लाको प्रथम आधिकारिक भ्रमण, अर्किड फार्मको अवलोकन गरे
राज्यपालद्वारा पाकिम जिल्लाको प्रथम आधिकारिक भ्रमण


गान्तोक, 19 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले बिहीवार पाकिम जिल्लाको आफ्नो प्रथम आधिकारिक भ्रमण गरेका छन्। यस अवसरमा सिक्किमकी प्रथम महिला लक्ष्मी गौतम पनि उपस्थित रहेकी थिइन्।

भ्रमणको क्रममा राज्यपालले आईसीएआर-राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र, पाकिमको भ्रमण गरे, अर्किड फार्मको अवलोकन गरे र जिल्लामा सञ्चालित विभिन्न विकासात्मक कार्य तथा विभागीय गतिविधिको विस्तृत समीक्षा गरे। राज्यपाललाई आईसीएआर-राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र, पाकिम परिसर पुगेपछि ‘गार्ड अफ् अनर’ प्रदान गरियो। त्यसपछि राज्यपालले परिसरमा बिरुवा रोपन गरे।

राज्यपालले अर्किड फार्मको भ्रमण गर्दै अर्किड क्षेत्रसित जोड़िएको प्रदर्शनी, जीवन्त प्रदर्शन र विभिन्न पसलको अवलोकन गरे। यसअवधि उनलाई सिक्किमको जैव-विविधताअन्तर्गत राज्य 800 भन्दा अधिक प्राकृतिक अर्किड प्रजातिले समृद्ध रहेको जानकारी दिइयो। उनले दुर्लभ अर्किड फार्ममा संरक्षित विभिन्न प्रजाति अवलोकन गरेर प्रसन्नता व्यक्त गरे।

फार्मको अवलोकनको क्रममा उनले अर्किडको उपयोगबाट बनाइएका स्मृति-चिह्न पनि निरीक्षण गरे र यस क्षेत्रमा विद्यमान अपार व्यावसायिक सम्भावना अवलोकन गर्दै यसका अधिक उत्पादन, मूल्य संवर्धन तथा उत्कृष्ट विपणनका लागि महत्त्वपूर्ण सुझाउ दिए। अर्किड फार्मको भ्रमणको क्रममा राज्यपालले महिला अर्किड कृषकसँग संवाद गरे।

उनले कृषकसित अर्किडको खेतीको तक्निकी प्रक्रिया, फूल फुलने मौसम, त्यसको अवधि, त्यसबाट हुने आय तथा यस व्यवसायमा आइपर्ने व्यावहारिक चुनौतीबारे विस्तारमा जानकारी लिए र आत्मनिर्भरताको दिशामा उनीहरूका प्रयास उत्साहवर्द्धन गरे।

यस उपरान्त सम्मेलन कक्षमा आयोजित आधिकारिक बैठकमा राज्यपालले जिल्ला प्रशासनका वरिष्ठ अधिकारीसँग संवाद गरे। स्वागत एवं संक्षिप्त परिचयपछि जिल्लाका कैयौँ प्रमुख विभागद्वारा आफ्ना गतिविधि र योजनामाथि विस्तृत प्रस्तुति दिइयो। यस क्रममा राज्यपालले जिल्लामा जारी विभिन्न केन्द्रिय योजनाको प्रगति, अहिलेसम्म पूर्ण भएका कार्य, लम्बित परियोजना, भावी कार्ययोजना तथा धरातलीय स्तरका चुनौतीहरूको जानकारी लिए।

बैठकमा प्रमुख विभाग एवं पहलहरूको रिपोर्टमा ग्रामीण विकास विभागअन्तर्गत भीबी- जी राम जी, स्वच्छ भारत मिशन (एसबीएम) तथा ई-प्रविष्ट प्रबन्धनसित जोड़िएका कार्यको स्थितिमाथि प्रकाश पारियो।

जिल्लामा स्वास्थ्य सेवा र शैक्षणिक गतिविधिको समीक्षा गर्दै राज्यपालले विशेष रूपमा स्वास्थ्य विभागका अधिकारीसित जिल्लामा नशालु पदार्थको समस्या तथा यसको रोकथाम एवं जागरूकताको दिशामा उठाइएका ठोस कदमबारे विस्तारमा जानकारी लिए। त्यहीँ, कृषकहरूको कल्याण र फसल उत्पादनसित जोड़िएका योजनाहरूबारे कृषि एवं बागवानी विभागद्वारा जानकारी प्रदान गरियो, जसअन्तर्गत राज्यपालले कैयौँ केन्द्रिय योजनाको समीक्षा गरे।

यसअवधि एनएचआईडीसीएलद्वारा जिल्लामा सड़क सम्पर्क र बुनियादी ढाँचाको विकासमाथि जानकारी दिइयो साथै ‘सिक्किम इंस्पायर्स’ जिल्ला पहलअन्तर्गत जिल्लामा कौशल विकास र नवाचारसित जोड़िएको विशेष कार्यक्रमसित पनि अवगत गराइयो।

राज्यपालले सबै विभागसित विचार-विमर्श गर्दै राज्य र केन्द्रका जनकल्याणकारी योजनाको लाभ अन्तिम व्यक्तिसम्म समयबद्ध रूपमा पुर्‍याउन तथा जिल्लाको समग्र विकासका लागि समन्वित प्रयास गर्न निर्देश दिए।

कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रभा प्रधान, पाकिमकी जिल्लापाल परी बिश्नोई, अतिरिक्त जिल्लापाल पुलकित, पाकिमका वरिष्ठ पुलिस अधीक्षक छिरिङ शेर्पासहित सम्बन्धित विभागका वरिष्ठ अधिकारीगण उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande