
हावडा, 19 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको हावड़ा जिल्ला अन्तर्गत बाँकड़ा बजारमा बुधवार राती आगलागी हुँदा पाँच वटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो यति छिटो फैलियो कि पसल मालिकहरूले आफ्नो सामान बचाउने मौका समेत पाएनन्। पसलमा राखिएका फलफुल र अन्य सामानहरू पूर्ण रूपमा नष्ट भयो। यस घटनामा ठूलो आर्थिक नोक्सान भएको आशङ्का छ।
प्राप्त जानकारी अनुसार गए बुधवार अबेर राती करिब 2ः30 बजे बजारमा फलफूलका पसलहरूमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले नजिकैका पसलहरूलाई पनि आफ्नो चपेटमा लियो। घटनापछि उक्त क्षेत्रमा आतङ्क फैलियो।
खबर पाए लगत्तै दमकल विभागका दुई वटा वाहन घटनास्थलमा पुगे। दमकलकर्मीहरू केही प्रयासपछि आगो निभाउन सफल भए। तर त्यतिञ्जेलसम्ममा पाँचै वटा पसलहरू पूर्ण रूपमा जलिसकेका थिए। आगो निभाएपछि पसल मालिकहरूले आफ्ना पसलहरूमा बाँचेका सामानहरू खोजिरहेको देखियो।
आगलागीको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। साथै क्षय-क्षतिको बारेमा पनि विस्तृत आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
उल्लेखनीय छ, हालैमा हावड़ा जिल्लामा आगलागीका थुप्रै घटनाहरू दर्ता भइसकेका छन्। गत नोभेम्बर 13- मा बाली हल्ट बस स्ट्याण्ड मुनि चारदेखि पाँच वटा पसलहरूमा आगो लागेको थियो। यद्यपि अग्निशमनकर्मीहरूको तत्परताले नजिकै खड़ा मालगाड़ीलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। यसअघि अक्टोबरमा हावड़ाको च्याटर्जीपाड़ा क्षेत्रको एउटा होटलमा पनि आगलागी भएको थियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा