
गान्तोक, 19 नोभेम्बर (हि.स.)। सिक्किम राज्य सहकारी संघ (सिकुन) लाई सिक्किममा सहकारी आन्दोलनको सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रतिष्ठित ‘इन्डियन कोअपरेटिभ एक्सिलेन्स अवार्ड २०२६’ प्रदान गरिएको छ।
संघका अध्यक्ष डा. मंगलजित राई र उपाध्यक्ष पीपी शर्माले आज नयाँ दिल्लीमा आयोजित पहिलो ‘इन्डियन कोअपरेटिभ समिट एन्ड एक्सिलेन्स अवार्ड्स २०२६’ समारोहमा उक्त सम्मान ग्रहण गरे। ‘इन्डियन कोअपरेटिभ’ को १५औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
पूर्व केन्द्रिय मन्त्री सुरेश प्रभु प्रमुख अतिथिका रूपमा उपस्थित रहेको समारोहमा भारत सरकारको सहकारी निर्वाचन प्राधिकरणका अध्यक्ष डीके सिंह, सहकार भारतीका संस्थापक सदस्य तथा भारतीय रिजर्भ ब्याङ्क र नाबार्डका पूर्व केन्द्रिय बोर्ड सदस्य सतीश मराठे, ‘इन्डियन कोअपरेटिभ’ का सम्पादक अजय झा तथा नाफेडका अध्यक्ष लक्ष्मी दासलगायत सहकारी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सिकुनले संस्थागत विकास, सहकारी तालिम, क्षमता अभिवृद्धि, डिजिटल सशक्तीकरण तथा सहकारी उद्यमहरूको प्रवर्द्धनमा सञ्चालन गरेका उल्लेखनीय पहलहरूको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।
यो उपलब्धि अध्यक्ष डा. मंगलजित राईको दूरदर्शी नेतृत्व, सिकुनको सञ्चालक समितिको सामूहिक प्रयास तथा अधिकारी, प्राध्यापक र कर्मचारीहरूको समर्पणको प्रतिफल रहेको संघले जनाएको छ।
यस अवसरमा सिकुनले मुख्यमन्त्री प्रेमसिंह तामाङ, सहकारिता मन्त्री अरुणकुमार उप्रेती, सहकारिता विभागका सचिव तथा सम्पूर्ण सरोकारवालाहरूप्रति निरन्तर मार्गदर्शन र सहयोगका लागि आभार व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल