
कोलकाता, 19 नोभेम्बर (हि,स)। कालीघाटमा अग्रिम नोटिस दिएपछि बिहीवार दमकल विभागका अधिकारीहरूले कम्याक स्ट्रीटस्तित अभिषेक ब्यानर्जीको कार्यालयको निरीक्षण गरे। अधिकारीहरूले 9 क्यामाक स्ट्रीटको सम्पूर्ण भवनलाई नजिकबाट निरीक्षण गरे। निरीक्षण सम्पन्न भएपछि अग्निशमन विभागले यस सम्बन्धमा आफ्नो विस्तृत रिपोर्ट सुम्पिनेछ।
यो सम्पूर्ण जायजा कलकत्ता उच्च अदालतको निर्देश अनुसार भइरहेको छ। अग्निशमन विभागले गत मङ्गलवार सूचना पठाएको थियो कि उनीहरूका अधिकारीहरू बिहीवार, नोभेम्बर 19- मा अभिषेकको कार्यालयको निरीक्षण गर्नेछन्। तृणमूल कङ्ग्रेसका नेता वेश्वानर चट्टोपाध्यायले नोटिस स्वीकार गरेका थिए। सोही निर्धारित कार्यक्रम अन्तर्गत अग्निशमन अधिकारीहरू बिहीवार कम्याक स्ट्रिट पुगे।
उल्लेखनीय छ, अभिषेक ब्यानर्जीको कार्यालय 9 कम्याक स्ट्रीटको 7औँ र 8औँ तलामा अवस्थित छ। केही दिनअघि कोलकाता नगरनिगमका अधिकारीहरू बिलबोर्डहरू हटाउन त्यहाँ गएका थिए जसावधि अभिषेकका समर्थकहरूसित उनीहरूको कथित रूपमा हातपात भएको थियो। यस घटनालाई लिएर मच्चिएको राजनीतिक कलहको बीचमा, फायर ब्रिगेडको टोली अचानक एक दिन भवनमा पुगेको थियो र सबै तलाको निरीक्षण गरेपछि भवनको मालिकलाई सूचना दिएको थियो।
दमकल विभागको आरोप थियो, अभिषेकको कार्यालय रहेको भवनको फ्लोरमा पर्याप्त अग्निरोधक व्यवस्था छैन। यसै आधारमा कार्यालयलाई तुरुन्तै खाली गर्ने निर्देशन दिइएको थियो, त्यसपछि मालिक पक्षलाे पनि कार्यालय खाली गर्न भनिएको थियो। दमकल विभागको त्यस नोटिसलाई चुनौती दिँदै तृणमूल कङ्ग्रेसले कलकत्ता उच्च न्यायालयको ढोका ढक्ढकाएको थियो जसको सुनवाई न्यायाधीश कृष्ण रावको बेञ्चमा भएको थियो।
सुनुवाईपछि अदालतले स्पष्ट पारेको थियो, यदि दमकल विभागले पुनः निरीक्षण गर्न चाहन्छ भने उसले पूर्व सूचना दिएर निश्चित मिति दिनुपर्छ। कार्यालयको निरीक्षण गरेपछि विभागले टीएमसीलाई आवश्यक सुरक्षा उपायहरूको बारेमा जानकारी गराउनु पर्नेछ र पार्टीले ती दिशानिर्देशहरू अनुसार उचित सुरक्षा उपायहरू अपनाउनु पर्नेछ। अदालतले दिशानिर्देशको पालना नगरेको खण्डमा अग्निशमन विभागले कानुन अनुसार कारबाही गर्नसक्ने पनि बताएको थियो। उच्च अदालतको सोही आदेशपछि अधिकारीहरूले सम्पूर्ण भवनको निरीक्षण गर्दै प्रतिवेदन तयार गरिरहेका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा