
- ‘सुरक्षित शौचालय, सुरक्षित भविष्य’ नारासहित १० दिसम्बरसम्म सञ्चालन हुने
गान्तोक, 19 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको ग्रामीण विकास विभाग (एसबीएम-जी) ले आज ‘विश्व शौचालय दिवस 2026’ अभियानको शुरुआत गरेको छ। यस अभियानले राज्यभरि सुरक्षित सरसफाइ, मर्यादा, जनस्वास्थ्य र सरसफाइ पूर्वाधारहरूको दिगो सञ्चालनमा जोड़ दिएको छ।
‘सुरक्षित शौचालय, सुरक्षित भविष्य’ नाराका साथ सञ्चालित यो अभियानले विशेषगरी महिला, किशोरी र बालकबालिकाका लागि सुरक्षित, पहुँचयोग्य र मर्यादित सरसफाइ सुनिश्चित गर्न केन्द्रित छ। यो अभियान 10 दिसम्बरसम्म सञ्चालन हुनेछ।
सरसफाइको क्षेत्रमा सिक्किमले हासिल गरेका उपलब्धिहरू जस्तै- 2016 मा भारतको पहिलो ‘खुल्लामा दिसामुक्त’ (ओडीएफ) राज्य बन्नु, अगस्त, 2023 मा भारतको पहिलो ‘ओडीएफ प्लस’ (ओडीएफ प्लस) नमुना राज्य बन्नु, र ‘स्वच्छ भारत मिसन’ (एसबीएम) अन्तर्गत भएका निरन्तर प्रगतिलाई यस अवसरमा विशेष रूपमा प्रकाश पारियो।
स्वच्छ शौचालय - गरिमामय भविष्य एसएसजीबी अभियानले नयाँ पूर्वाधार निर्माणमा मात्र जोड़ नदिएर विद्यमान सरसफाइ सुविधाहरूको कार्यक्षमता, सुरक्षा र मरम्मतसम्भारमा विशेष ध्यान केन्द्रित गर्नेछ। यसका मुख्य गतिविधिहरूमा सामुदायिक सरसफाइ परिसर (सीएससी) र संस्थागत शौचालयहरूको अवस्थाको मूल्याङ्कन, मरम्मत तथा पुनर्स्थापना गर्ने, घरधनीहरूलाई आफ्ना व्यक्तिगत शौचालय (आईएचएचएल) को मरम्मतसम्भार गर्न प्रोत्साहित गर्ने र सरसफाइ पूर्वाधारको सञ्चालन तथा मरम्मतसम्भार संयन्त्रलाई सुदृढ़ पार्ने कार्यहरू समावेश छन्।
यो अभियानले विद्यालयहरूमा साबुनपानीले हात धुने अभ्यासलाई प्रवर्द्धन गर्नुका साथै व्यवहार परिवर्तनसम्बन्धी सञ्चार र सामुदायिक सचेतना अभिवृद्धि गर्नेछ। यसले खुल्लामा दिसा गर्ने प्रवृत्ति पुनः नदोहोरियोस् भन्ने सुनिश्चित गर्न निरन्तर प्रयास गरिनेछन्। विशेषगरी महिला र बालकबालिकाको सुरक्षा तथा मर्यादालाई ध्यानमा राख्दै विद्यालयका बालकबालिकाहरूलाई सचेतना कार्यक्रम, हातको सरसफाइ र सुरक्षित सरसफाइ अभ्याससम्बन्धी व्यावहारिक प्रदर्शनमार्फत यस अभियानमा सहभागी गराइनेछ।
बैठकमा ग्राम पञ्चायत स्तरमा भइरहेको ‘स्व-मूल्याङ्कन’ पहल र केन्द्रीकृत पोर्टलमार्फत गरिने सरसफाइ अनुगमनको प्रगतिको पनि समीक्षा गरियो। यस क्रममा सही प्रतिवेदन तयार पार्ने, तस्वीरसहितको अभिलेख राख्ने र सरसफाइ सुविधाहरूको नियमित मूल्याङ्कन गर्ने आवश्यकतामाथि जोड़ दिइयो। जिल्ला तथा खण्डस्तरीय अधिकारीहरूलाई पहिचान गरिएका गतिविधिहरूको समयमै कार्यान्वयन सुनिश्चित गर्न र सक्रिय समन्वय कायम राख्न आग्रह गरियो।
उक्त कार्यक्रममा ग्रामीण विकास विभाग (आरडीडी) का सचिव अनिल राज राई, विशेष सचिव तथा मिशन निर्देशक (एसबीएम-जी) कोशी कपिल तथा ग्रामीण विकास विभागका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
विभागले दिगो सरसफाइ प्राप्त गर्न सामूहिक जिम्मेवारी, सामुदायिक सहभागिता र विद्यमान पूर्वाधारहरूको निरन्तर मर्मतसम्भार आवश्यक हुने विषयमा पुनः जोड़ दियो। यस अभियानको उद्देश्य सरसफाइलाई पूर्वाधारको रूपमा मात्र नभएर जनस्वास्थ्य, मानवीय मर्यादा र जीवनको गुणस्तरको एक अपरिहार्य पक्षका रूपमा यसको महत्त्वलाई स्थापित गर्नु हो।
---------------
हिन्दुस्थान समाचार / बिशाल