सिक्किम साहसिक पर्यटन महोत्सव २०२६ मा पहिलोपटक ‘रिले एड्भेन्चर प्याकेज’ शुरु
‘रिले एड्भेन्चर प्याकेज’


गान्तोक, ०२ नोभेम्बर (हि.स.)। सिक्किम साहसिक पर्यटन महोत्सव २०२६ अन्तर्गत पहिलोपटक सञ्चालन गरिएको विशेष ‘रिले एड्भेन्चर प्याकेज’ आज बिहान गान्तोकबाट शुरु भएको छ। हवाई यात्रा, सडकमार्गको साहसिक यात्रा तथा नदीमा जलविहारजस्ता गतिविधिलाई एउटै यात्रामा समेटिएको यस विशेष प्याकेजले सिक्किमको साहसिक पर्यटनका विविध सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको छ।

देशका विभिन्न भागबाट आएका २० जना सहभागी रहेको टोलीलाई गान्तोक हेलिप्याडबाट सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) का मुख्य कार्यकारी अधिकृत ग्युरमी युसलले झण्डा देखाएर प्रस्थान गराए। उक्त अवसरमा निगमका महाप्रबन्धक विजय थापा पनि उपस्थित थिए।

प्रस्थान गर्नुअघि एसटीडीसीको हेलिकप्टर विभागका सञ्चालन सहायक महाप्रबन्धक तेजपाल प्रधानले सहभागीहरूलाई आवश्यक सुरक्षा सावधानीबारे जानकारी गराउँदै सुरक्षित तथा रमाइलो यात्राका लागि शुभकामना व्यक्त गरे।

यस साहसिक प्याकेजअन्तर्गत सहभागीहरूले गान्तोकबाट पाकिमसम्म हेलिकप्टर यात्रा गर्नेछन्। त्यसपछि जीपमार्फत थुम्की डाँडा पुगेर प्याराग्लाइडिङ गर्दै रोडाथाङ अवतरण गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि सडकमार्ग हुँदै रम्फू पुग्ने टोलीले टिस्टाका चुनौतीपूर्ण छाल तथा जलप्रवाहबीच राफ्टिङ गर्दै नाम्ची जिल्लाको नामथाङस्थित लिङ्खिमटार पुग्नेछ। त्यहाँ उनीहरू महोत्सवअन्तर्गत आयोजना गरिएका अन्य साहसिक गतिविधिमा सहभागी हुनेछन्।

आकाशमा उडानको रोमाञ्च, कठिन पहाडी मार्गको यात्रा तथा टिस्टाको तीव्र जलप्रवाहमा राफ्टिङको अनुभवलाई एउटै यात्रामा समेटिएको यस प्याकेजले परम्परागत साहसिक पर्यटनको दायरालाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।

आफ्नो किसिमको पहिलो यस पहलले उडान, प्याराग्लाइडिङ, सडक यात्रा तथा नदीमा जलयात्राजस्ता विभिन्न साहसिक गतिविधिलाई एउटै निरन्तर यात्रामा जोड्दै सिक्किमको भौगोलिक विविधता र साहसिक पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande