
कोलकाता, 20 नोभेम्बर (हि.स.)। पुलिसलाई धम्की दिएको मामिलामा डायमण्ड हार्बरका सांसद तथा तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी शुक्रवार गिरीश पार्क पुलिस स्टेशनमा उपस्थित भए। पानीझरीमा उनी दिउँसो करिब 12ः45 बजे थानामा पुगे। यस अवधि थाना बाहिर उनका केही समर्थकहरूलाई छाता लिएर पर्खिरहेको देखियो जसमा उपासना चौधरी पनि उपस्थित थिइन्।
प्राप्त जानकारी अनुसार यस मामिलाको शुरूआत गत अक्टोबर 29- मा भएको थियो। त्यस दिन अभिषेक ब्यानर्जीले मिडिया समक्ष आरोप लगाए, मुख्यमन्त्री र वर्तमान राज्य सरकारको इशारामा पुलिसले उनी जस्ता विपक्षी नेताहरूविरुद्ध झुटो मुद्दा दर्ता गरिरहेको छ। उनले चेताउनी दिँदै भनेका थिए, भविष्यमा सत्ता परिवर्तन भयो भने उनले त्यस्ता पुलिस अधिकारीहरूलाई हेर्नेछन्। यस टिप्पणीविरूद्ध एकजना महिलाले अक्टोबर 31- मा गिरीश पार्क पुलिस स्टेशनमा एफआईआर दर्ता गरेकी थिइन्।
यसै एफआईआरको आधारमा पुलिस गत शुक्रवार साँझ अभिषेक ब्यानर्जीको कालीघाट निवासमा पुगेको थियो र उनलाई 20 नोभेम्बरको दिउँसो 1 बजे गिरीश पार्क पुलिस स्टेशनमा उपस्थित हुन समन जारी गरेको थियो। पुलिसको निर्देशन अनुसार उनी निर्धारित समयभन्दा अघि नै पुलिस स्टेशनमा पुगे।
उल्लेख्य, अभिषेक ब्यानर्जीविरूद्ध बालुवा र कोइला तस्करीसित सम्बन्धित आरोपहरूको जाँच प्रवर्तन निदेशालय (ईडी) एवं केन्द्रिय अनुसन्धान ब्यूरो (सीबीआई)- ले लामो समयदेखिकै गरिरहेको छ जसको सम्बन्धमा उनलाई धेरै पटक सोधपुछ पनि गरिसकिएको छ। यसबाहेक उनीविरूद्ध राज्यमा सत्ता परिवर्तन भएदेखि हस्ताक्षर जालझेल, डीजे-सम्बन्धित टिप्पणी र पुलिसलाई धम्की दिने लगायतका अन्य धेरै मामिलाहरूमा पनि अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा