खरसाङमा अन्तरकार्यालय टी१० क्रिकेट प्रतियोगिता नोभेम्बरको अन्तिम सातादेखि
अन्तर कार्यालय टी-10 लीग कम नक आउट क्रिकेट प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा


खरसाङ, २० नोभेम्बर (हि.स.)। यसै महिनाको अन्तिम सातादेखि शुरु हुने अन्तरकार्यालय टी१० लिग कम नकआउट क्रिकेट प्रतियोगिताको तयारीलाई लिएर खरसाङ महकुमा खेलकुद संघको सभा संघको कार्यालयमा सम्पन्न भयो। संघका कार्यकारी अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न सभालाई सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए।

सभामा गत वर्ष आयोजित अन्तरकार्यालय टी१० लिग कम नकआउट क्रिकेट प्रतियोगिताका क्रममा देखिएका कमजोरीहरू तथा तिनलाई आगामी प्रतियोगितामा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरियो।

सभामा सचिव निर्मल गुरुङले वर्तमान कोषाध्यक्ष राजेन लामालाई सहयोग पुर्‍याउन अर्पण गुरुङलाई सहकोषाध्यक्ष नियुक्त गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव सभाले सर्वसम्मतिले पारित गर्दै नवनियुक्त सहकोषाध्यक्ष अर्पण गुरुङलाई बधाई दिएको छ।

यसका साथै सभामा शहीद स्वर्ण कप फुटबल प्रतियोगिताबारे पनि चर्चा गरिएको थियो। प्रतियोगितासम्बन्धी आवश्यक तयारी तथा प्रबन्ध मिलेको खण्डमा आगामी सभामार्फत औपचारिक जानकारी गराइने सचिव गुरुङले बताए।अन्तरकार्यालय टी१० लिग कम नकआउट क्रिकेट प्रतियोगिताको खेल तालिका आगामी २२ नोभेम्बरमा संघको कार्यालयमा सहभागी कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा चिट्ठा प्रणालीमार्फत निर्धारण गरिने भएको छ।सभाको अन्त्यमा कार्यकारी अध्यक्ष मोहन योञ्जनले धन्यवाद ज्ञापन गर्दै संघद्वारा आयोजना गरिने विभिन्न खेलकुद प्रतियोगिताहरूमा निरन्तर सक्रिय सहभागिता जनाउन सबैलाई अपील गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande