
जङ्गु, 20 नोभेम्बर (हि.स.)। विश्व ब्याङ्कको सहयोगमा सञ्चालित सिक्किम इन्स्पायर्स कार्यक्रमको मध्यावधि समीक्षा अन्तर्गत विश्व ब्याङ्कको टोलीले १९ देखि २१ नोभेम्बर, २०२६ सम्म जङ्गुका लुम र ही गेथाङ गाउँको भ्रमण गरिरहेको छ। विश्व ब्याङ्कको टोलीसँगै सिक्किम इन्स्पायर्सको कार्यक्रम व्यवस्थापन एकाई (पीएमयू) तथा वन एवं पर्यावरण विभागअन्तर्गत पर्यावरण पर्यटन निर्देशनालयका प्रतिनिधिहरू पनि भ्रमणमा सहभागी छन्।
टोलीमा विश्व ब्याङ्ककी कार्यदल प्रमुख (टीटीएल) भेरेना फिपसहित उनका सहयोगीहरू, सिक्किम इन्स्पायर्सकी कार्यक्रम निर्देशक रोहिणी प्रधान, कार्यक्रम व्यवस्थापन एकाईका सदस्य तथा पर्यावरण पर्यटन निर्देशनालयका प्रतिनिधिहरू रहेका छन्। भ्रमणको मुख्य उद्देश्य कार्यक्रमको प्रगति समीक्षा गर्नु, स्थानीय समुदायसँग अन्तरक्रिया गर्नु तथा जङ्गुमा पर्यावरण पर्यटनको विकास र दिगो जीविकोपार्जनका अवसरहरू पहिचान गर्नु रहेको छ।
भ्रमणको शुरुवित लुम गाउँमा स्थानीयवासीद्वारा परम्परागत रूपमा गरिएको स्वागतबाट भयो। त्यसपछि टोलीले गाउँ पञ्चायत तथा स्थानीय समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्यो।
यस अवसरमा टोलीले ‘मिलेट म्यान’ का रूपमा परिचित छिरिङ ग्याछोसँग परम्परागत खाद्य परिकार, स्वास्थ्य तथा आरोग्यसम्बन्धी अभ्यास र औषधीय वनस्पतिबारे जानकारी लियो। साथै, लेप्चा समुदायको समृद्ध सांस्कृतिक परम्परा र परम्परागत ज्ञानबारे बुझ्न बुङथिङहरूसँग पनि अन्तरक्रिया गरियो।
टोलीलाई सिक्किम इन्स्पायर्स कार्यक्रमअन्तर्गत क्षेत्रमा सञ्चालन भइरहेका पर्यावरण पर्यटनका पहल तथा पदमार्ग विकाससम्बन्धी कार्यबारे जानकारी गराइयो। यस क्रममा लुम-साक्योङ पदयात्रा मार्गबारे विशेष जानकारी दिइयो। उक्त मार्गले जङ्गुका तल्लो भूभागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएका विविध प्राकृतिक दृश्यावलोकन गर्ने अवसर प्रदान गर्दछ।भ्रमणका क्रममा टोलीले टिस्टा नदी तथा वरपरका पहाडहरूको मनोरम दृश्यसहित जङ्गुको प्राकृतिक सुन्दरताको पनि अवलोकन गर्यो। यस भ्रमणले स्थानीय समुदायका आवश्यकता र आकाङ्क्षा बुझ्नुका साथै जङ्गुको समृद्ध प्राकृतिक पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यावरण पर्यटनमार्फत आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।यस पहलको उद्देश्य स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने, सामुदायिक सहभागिता अभिवृद्धि गर्ने तथा आफ्नो प्राकृतिक परिवेशको संरक्षणमा उनीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने जिम्मेवार पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल