
मगर संघ भारत खरसाङ शहरिया समितिद्वारा परम्परागत देउसी कार्यक्रम आयोजना
खरसाङ, २० नोभेम्बर (हि.स.)। नेपाली संस्कृति संरक्षण गर्नुका साथै मगर समुदायको संस्कार, परम्परा र मौलिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले मगर संघ भारत, खरसाङ शहरिया समितिको वार्षिक देउसी कार्यक्रम शुक्रबार खरसाङको भिक्टोरियामा सम्पन्न भयो।
प्रताप थापा र संगम थापाको आँगन तथा संयोजनमा आयोजित कार्यक्रममा मगर समुदायका परम्परागत संस्कार र सांस्कृतिक पक्षलाई विशेष महत्त्व दिइएको थियो।
कार्यक्रमको सुरुआत मगर वापाहरू शान्ता थापा र रतन थापाको बाहुलीबाट मादलको पूजाआजा गरी तथा कन्याहरूबाट टीका लगाएर सामूहिक पूजापछि गरिएको थियो। त्यसपछि परम्परागत सांस्कृतिक तथा सांगीतिक बाजा मादलको तालमा मगर समुदायको मौलिक देउसी प्रस्तुत गरियो।मगर संघ भारत खरसाङ शहरिया समितिका सचिव हेमन्त थापा र शशि थापाको अगुवाइमा सम्पन्न कार्यक्रमलाई पारसचन्द्र आले र प्रताप थापा मगरले सञ्चालन गरेका थिए। तिहारपछि एकादशीको दिन देउसी कार्यक्रम समापन गर्ने परम्पराअनुसार समितिले यस वर्ष पनि एकादशीकै दिन कार्यक्रम आयोजना गरेको जनाएको छ। मगर समुदायमा देउसी खेल्दा प्रचलित ‘देउसुरे’ को सट्टा ‘सिङ्लाम सिङ्लाम’ भन्ने मौलिक चलन रहेको पनि जानकारी गराइएको छ।कार्यक्रममा मगर संघ भारतका केन्द्रिय उपाध्यक्ष अवकाशप्राप्त कप्तान आईडी थापा, केन्द्रिय सदस्य अन्तु थापा, खरसाङ शहरिया समितिका सभापति पुरण थापा, महासचिव हेमन्त थापा, कोषाध्यक्षलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमबारे पत्रकारहरूसँग कुराकानी गर्दै सभापति पुरण थापा, महासचिव हेमन्त थापा तथा प्रताप थापाले समितिले प्रत्येक वर्ष मगर समुदायको मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले देउसी कार्यक्रम आयोजना गर्दै आएको बताए। उनीहरूले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै विशेषगरी कार्यक्रमका संयोजक तथा आँगन उपलब्ध गराउने प्रताप थापालाई धन्यवाद दिए।
हिन्दुस्थान समाचार / हनोक