
कुचबिहार, 20 नोभेम्बर (हि.स.)। कुचबिहार-2 ब्लकको महिषबाथान सु-स्वास्थ्य केन्द्रमा पाँच वर्षीया बालिकालाई दुईपटक डीपीटीको खोप लगाइएको घटना शुक्रवार प्रकाशमा आएको छ। परिवारको आरोप छ, बालिकालाई गत महिना मात्रै निर्धारित डीपीटीको खोप लगाइएको थियो। तथापि उसलाई बिहीवार स्वास्थ्य केन्द्रबाट फोन कल गरेर पुनः बोलाइयो र उही खोप फेरि दिइयो। त्यसबेलादेखि बालिकाको स्वास्थ्य बिग्रँदै गएको दाबी गरिँदैछ। शुक्रवार परिवारले स्वास्थ्य केन्द्रमा पुगेर यस सम्बन्धमा जवाफ माग्यो, तर कुनै प्रतिक्रिया पाएन। यसले गर्दा तनाउपूर्ण स्थिति सिर्जना भयो।
परिवार अनुसार महिषबाथान निवासी नारायण चन्द्रकी पाँच वर्षीया छोरीलाई गत महिना नियमित रूपमा डीपीटीको खोप लगाइएको थियो। तर बिहीवार स्वास्थ्य केन्द्रका आशा कार्यकर्ताहरूले कथित रूपमा उनलाई पुनः खोप लगाइदिए। खोप लगाएपछि बालिकाको खोप कार्डमा अघिल्लो महिनाको मिति घटाएर बिहीवारको नयाँ मिति दर्ता गरियो। घर फर्किएपछि बालिका रून थालिन्, त्यसपछि आमालाई शङ्का लाग्यो।
त्यसपछि परिवारले उनलाई स्थानीय निजी डाक्टरकहाँ पुऱ्यायो। शुक्रवार परिवारले स्वास्थ्य केन्द्रमा पुगेर यस सम्बन्धमा जवाफ माग्यो, तर उनीहरूले कुनै सन्तोषजनक जवाफ पाएनन्। यसबाट पीडिताको परिवार असनतुष्ट भयो जसले गर्दा स्थिति तनाउपूर्ण भयो। घटनापछि स्वास्थ्य कार्यकर्ताको जिम्मेवारी र खोप रेकर्डको रखरखाउमाथि प्रश्न उठ्न थालेको छ। तर स्वास्थ्य केन्द्रका कुनै पनि आशा कार्यकर्ता वा स्वास्थ्य अधिकारीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा