भाजपा नेताको कुटेरै हत्या, झगड़ा मिलाउने क्रममा मादक पदार्थ सेवन गरेका युवकद्वारा आक्रमण
भाजपा नेताको कुटेरै हत्या, झगड़ा मिलाउने क्रममा मादक पदार्थ सेवन गरेका युवकद्वारा आक्रमण


माल्दा, २० नोभेम्बर (हि.स.)। जिल्लाको हबीबपुर थाना अन्तर्गत ऋषिपुर क्षेत्रमा बिहिवार राति एक भाजपा नेताको कथित रूपमा कुटेरै हत्या गरिएको छ। मृतकको पहिचान ऋषिपुर क्षेत्रका भाजपा मण्डल उपाध्यक्ष चन्दन मण्डल (४५) का रूपमा भएको छ। पुलिसले यस घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार, ऋषिपुरको चाँदपुरमा षडानन कार्तिक पूजाको अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। बिहिवार राति लगभग १२ बजी कुनै कारणवश विद्युत् आपूर्ति बन्द भएपछि मादक पदार्थ सेवन गरेका केही युवकहरूबीच कुटपिट शुरु भएको थियो। झगड़ा मिलाउन भाजपा नेता चन्दन मण्डल अघि बढ़ेका थिए। आरोप छ, सोही क्रममा मादक पदार्थ सेवन गरेका एक युवकले उनलाई निर्ममतापूर्वक कुटपिट गर्यो।

स्थानीय सूत्अर नुसार, चन्दन मण्डल पहिलेदेखि नै मुटु सम्बन्धी रोगबाट पीड़ित थिए। कुटपिटका कारण उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी सड़कमै ढले। उनलाई तत्काल माल्दा मेडिकल कलेज लगियो, जहाँ चिकित्सकहरूले मृत घोषित गरे। घटनाबारे माल्दाका पुलिस अधीक्षक अनुपम सिंहले एक जना आरोपीलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

यस घटनालाई लिएर भाजपाले तृणमूल कांग्रेसमाथि सीधा प्रहार गरेको छ। माल्दा जिल्ला परिषद्का भाजपा सदस्य ताराशंकर रायले यस हत्याकाण्डमा तृणमूल समर्थित गुण्डाहरूको हात रहेको आरोप लगाएका छन्। उनले क्षेत्रमा रक्सी, जुवा तथा लागुऔषधको कारोबार बढ्दै गएको र यसका कारण आपराधिक घटनाहरूमा वृद्धि भइरहेको बताए।

त्यस्तै, मृतककी पत्नी पूर्णिमा मण्डलले स्थानीय तृणमूल नेता कनाई चौधरीमाथि हत्यामा संलग्न रहेको आरोप लगाएकी छन्। उनी अनुसार, आफ्ना पति भाजपासँग आबद्ध रहेको र यस पटक कार्तिक पूजा मेलाको जिम्मेवारी सम्हालेका कारण तृणमूलका मानिसहरू उनीसँग ईर्ष्या गर्थे। उनले यस घटनामा न्यायको माग गरेकी छन्। यद्यपि, स्थानीय तृणमूल नेतृत्वले यी सबै आरोपहरूलाई पूर्ण रूपमा खारेज गरेको छ।

/ बिशाल


 rajesh pande