
गान्तोक, 20 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले आज दरामदिन विधानसभा क्षेत्रको भ्रमण गरे। पार्टीको जमीनीस्तरको संगठनलाई अझ सुदृढ बनाउने, कार्यकर्ताहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा गाउँस्तरमा जनताको वास्तविक अवस्था, आकांक्षा र समस्याहरू बुझ्ने निरन्तर प्रयासस्वरूप उक्त भ्रमण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भ्रमणका क्रममा पार्टी अध्यक्षले विभिन्न गाउँमा पुगेर पार्टीका कार्यकर्ता, स्थानीय नेता तथा जमीनीस्तरमा सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया गरे। यस क्रममा संगठनात्मक विषयमा विचार तथा सुझाउहरू आदान-प्रदान गर्नुका साथै स्थानीय राजनीतिक एवं संगठनात्मक अवस्थाको समीक्षा गरे।
साथै, उनले सम्बन्धित एसीईसीहरूको गतिविधि र प्रगतिबारे जानकारी लिए। राईले स्थानीय पार्टी एकाइहरूले सामना गरिरहेका चुनौतीहरूबारे समेत जानकारी लिँदै नेता तथा कार्यकर्ताहरूलाई सुधारवादी विचारधारा, उत्तरदायी राजनीति, जनसेवा तथा नागरिक केन्द्रित शासन व्यवस्थाप्रति प्रतिबद्ध रहन प्रेरित गरे।
भ्रमणका क्रममा सोरेङ निर्वाचन क्षेत्रअन्तर्गत रिदाङ तथा दरामदिन निर्वाचन क्षेत्रअन्तर्गत लुङचोक, आम्देन, आन्देन र रुम्बुक गाउँहरू समेटिएका थिए। यी स्थानहरूमा सीएपी अध्यक्षले सदस्य तथा कार्यकर्ताहरूसँग आपसी विश्वास, संवाद र सामूहिक जिम्मेवारीको भावनाका साथ अन्तरक्रिया गरे।
यस भ्रमणले जमीनीस्तरको संगठनसँग प्रत्यक्ष र अर्थपूर्ण सम्बन्ध कायम राख्ने पार्टीको प्रतिबद्धतालाई पुनः प्रतिबिम्बित गरेको बताइएको छ। पार्टीको वृद्धि, भावी दिशा र भविष्य निर्माणमा कार्यकर्ताहरूका अनुभव, आवाज तथा सुझाउहरूलाई प्राथमिकता दिँदै गाउँस्तरीय यस्ता भेटघाटले उत्तरदायी, अनुशासित, समावेशी र जनमुखी राजनीतिक संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने पार्टीको विश्वास रहेको छ।
अध्यक्ष राईले पार्टी संगठनलाई जमीनीस्तरबाट अझ सुदृढ बनाउन, जनसहभागिता अभिवृद्धि गर्न तथा निरन्तर संवाद, आपसी विश्वास र रचनात्मक जनसेवामार्फत ‘सुधार’ को सन्देश प्रत्येक गाउँ र घरसम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल