
- दार्जिलिङ हिल युनिभर्सिटी एक पूर्ण युनिभर्सिटी हो: डा सुजतारानी राई
खरसाङ, २० नोभेम्बर (हि.स.) दार्जिलिङ पार्वत्य विश्वविद्यालयको स्थापना दिवस समारोह आज विश्वविद्यालयकी उप कूलपति प्रोफेसर डा तेजीमाला गुरुङ नागको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सिन्कोना बगानका निर्देशक डा सामूएल राई, कार्यकारी सभासद रतन थापा, दार्जिलिङ पार्वत्य विश्वविद्यालयका पूर्व कूल सचिव डा देवाशिष भट्टाचार्य, भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, दार्जिलिङ जिल्ला प्राथमिक शिक्षा विभागका चेयरम्यान निरज थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।
समारोहमा दार्जिलिङ पार्वत्य विश्वविद्यालयको स्थापना र यसको कार्यमा विशेष सहायता र विशिष्ट योगदान दिने विशिष्ट व्यक्तित्वहरू सिन्कोना बगानका निर्देशक डा सामूएल राई, कार्यकारी सभासद रतन थापा, साहित्यकार ललिता जोशी, डा देवाशिष भट्टचार्य, मङ्पु पुलिस आउट पोष्टको बडाबाबु, कमल पाण्डे, चर्चित ब्याण्ड मन्त्र ब्याण्डको कलाकारहरु लगायत अन्यहरुलाई दार्जिलिङ पार्वत्य विश्वविद्यालयको तर्फबाट सम्मानित गरियो। कार्यक्रममा अतिथिहरुका बाहुलीबाट दार्जिलिङ पार्वत्य विश्वविद्यालयको पत्रिका 'चैतन्य' को लोकार्पण गरियो। साथै, मन्त्र ब्याण्डको संगीत अनि डा महेश दाहाल र विशाल विश्वकर्माको शब्दमा रहेको दार्जिलिङ पार्वत्य विश्वविद्यालयको थिम गीत पनि लोकार्पण गरियो।
कार्यक्रममा दार्जिलिङ पार्वत्य विश्वविद्यालयको स्थापनादेखि हालसम्मको विभिन्न योगदान र उपलब्धिहरु विषयमा बनाइएको भिडियो 'दार्जिलिङ पार्वत्य विश्वविद्यालयको ऐतिहासिक प्रथम पहल' प्रस्तुत गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित सिन्कोना बगानका निर्देशक डा सामूएल राईले दार्जिलिङ पहाड र सिक्किममा रहेको शिक्षा संस्थानहरु र विश्वविद्यालयहरु विषयमा चर्चा परिचर्चा गर्दै सिक्किमले शिक्षा क्षेत्रमा धेरै उन्नति गरेको र अब जीटीए क्षेत्रमा पनि शिक्षामा उन्नति हुनुपर्छ भन्ने विषयमा वक्तव्य राखेका थिए। उनले यस क्रममा जीटीए क्षेत्रमा केवल 12 वटा कलेजहरु मात्र रहेको बताउँदै दार्जिलिङ हिल युनिभर्सिटीको सबैले मिलेर आफ्नो आफ्नो तर्फबाट संरक्षण र सम्बर्द्धन गर्नु पर्ने बताए। उनले दार्जिलिङ हिल युनिभर्सिटीलाई उच्च र स्तरीय शिक्षाको लागि संरक्षण गर्न आवश्यक रहेको बताए। समारोहलाई भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन दार्जिलिङ पार्वत्य विश्वविद्यालयकी रेजिस्टार डा सुजतारानी राईले राखेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत, नृत्य पनि प्रस्तुत गरे। कार्यक्रममा चर्चित म्युजिकल ब्याण्ड मन्त्र ब्याण्डको कलाकारहरुले सांगीतिक प्रस्तुति पनि दिएका थिए।
कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जिलिङ पार्वत्य विश्वविद्यालयकी रेजिस्टार डा सुजतारानी राईले 2018 सालमा स्थापित दार्जिलिङ हिल युनिभर्सिटीले हालसम्म धेरै उन्नति गरेको बताउँदै हालमा यहाँ 18 जना प्राध्यापकहरु रहेको बताइन्। उनले दार्जिलिङ हिल युनिभर्सिटी पश्चिम बंगालका केही युनिभर्सिटीहरुमा एक रहेको बताइन्, जसमा उप कूलपति, रजिस्टार, फाइनान्स अफिसर, परीक्षा कन्ट्रोलर लगायत सबै अफिसियलहरू र पदाधिकारीहरु छन्। उनले दार्जिलिङ हिल युनिभर्सिटी एउटा पूर्ण युनिभर्सिटीमा सामेल रहेको बताइन्।
डा राईले यस युनिभर्सिटीका विद्यार्थीहरुले केवल पढाई मात्र गरेका छैनन्, तर विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमतिर पनि भाग लिएर सफल भइरहेको बताइन्। उनले दार्जिलिङ हिल युनिभर्सिटीमा अब आगामी सत्र जनवरीदेखि पश्चिम बंगाल सरकारको उच्च शिक्षा विभागबाट अनुमति प्राप्त भएर युजी कोर्स पनि शुरु गरिने भएको जानकारी गराइन्।
---------------
हिन्दुस्थान समाचार / हनोक