सोलर लाइटको नक्कली टेन्डर मार्फत करोड़ौंको ठगी गरेको आरोप, मालबजारका पूर्व अध्यक्ष स्वपन साहाको कानूनी समस्या बढ्ने
मालबाजार के पूर्व चेयरमैन स्वपन साहा की फ़ाइल फोटो


जलपाइगढ़ी, २० नोभेम्बर (हि.स.)। सोलर स्ट्रीट लाइट जड़ानका लागि नक्कली सरकारी टेन्डर जारी गरी करोड़ौं रुपियाँ ठगी गरेको आरोपमा जलपाइगढ़ी केन्द्रिय सुधार गृहमा बन्द मालबजार नगरपालिकाका पूर्व अध्यक्ष स्वपन साहाको समस्या थप बढ्ने देखिएको छ। पुलिसले उनलाई यस नयाँ मुद्दामा शोन-एरेस्ट (अर्को मुद्दामा औपचारिक रूपमा पक्राउ गर्न अदालतसँग अनुमति मागेको छ।

सिलगढ़ीका एक ठेकेदारको लिखित उजुरीका आधारमा पुलिसले यो कदम चालेको हो। स्वपन साहा नगरपालिका अध्यक्ष रहँदा आफ्नो पद र प्रभाव प्रयोग गरी मालबजारमा सौर्य ऊर्जाबाट चल्ने सड़क बत्ती जड़ानका लागि कथित नक्कली सरकारी टेन्डर जारी गरेको आरोप छ। उक्त कामका लागि सरकारी अनुमति नलिइएको पनि उजुरीमा उल्लेख छ।

ठेकेदार अनुसार, काम गरेबापत केही रकम भुक्तानी भए पनि अझै लगभग ३ करोड़ ९२ लाख रुपियाँ बाँकी छ। यसपछि उनले मालबजार थानामा ठगी तथा आर्थिक नोक्सानीको उजुरी दिएका थिए।

यस मामिलामा पुलिसले स्वपन साहालाई शोन-एरेस्ट गरी हिरासतमा लिएर सोधपुछ गर्न जलपाइगढ़ीका मुख्य न्यायिक दण्डाधिकारी अदालतमा आवेदन दिएको छ।

उल्लेखनीय छ, यसअघि विभिन्न आर्थिक अनियमितताको आरोपमा तृणमूल कांग्रेसले उनलाई अध्यक्ष पदबाट हटाउनुका साथै पार्टीबाट निलम्बन गरेको थियो। गत जुलाईमा यस सम्बन्धी विभिन्न मुद्दामा स्वपन साहा सहित चार जना पक्राउ परेका थिए। एउटा मुद्दामा जमानत पाए पनि नक्कली जन्म तथा मृत्यु प्रमाणपत्र सम्बन्धी कालिम्पोङ थानामा दर्ता मुद्दामा जमानत नपाएकाले उनी हाल जेलमा छन्।

यसैबीच, मालबजारका भाजपा टाउन मण्डल अध्यक्ष नवीन साहाले तत्कालीन नगरपालिका बोर्डका अन्य सदस्यहरू पनि कथित भ्रष्टाचारमा संलग्न रहेको दाबी गर्दै दोषी सबैमाथि कानूनी कारबाही गर्न माग गरेका छन्।

/ बिशाल


 rajesh pande