
सिलगढ़ी, २० नोभेम्बर (हि.स.)। सिलगढ़ीको डाबग्राम क्षेत्रमा एक युवतीको रहस्यमय परिस्थितिमा मृत्यु भएपछि क्षेत्रमा सनसनी फैलिएको छ। मृतकको पहिचान तनिशा घोषका रूपमा भएको छ। परिवारका सदस्यहरूले उनकी आमा दीपशिखा घोषमाथि सिरानीले मुख थुनेर हत्या गरेको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपको पुष्टि हुन बाँकी छ। सिलगढ़ी थाना पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।
परिवार अनुसार, सिलगढ़ी नगर निगमको वार्ड नम्बर २३ अन्तर्गत डाबग्राम निवासी हरन घोषकी छोरी तनिशा लामो समयदेखि मानसिक रोगबाट पीड़ित थिइन्। उनी प्रायः घरबाट बाहिर निस्केर जाने गर्थिन्। परिवारले उनको उपचारका लागि विभिन्न ठाउँमा प्रयास गरे पनि खासै सुधार हुन सकेको थिएन। उनलाई लिएर परिवारमा प्रायः विवाद समेत हुने गरेको बताइएको छ।
बिहिवार राति लगभग साढ़े नौ बजी तनिशाकी हजुरआमा गौरी घोषले उनलाई कोठाभित्र ओछ्यानमा अचेत अवस्थामा देखेपछि आत्तिइन्। उनले तत्काल तनिशाका भाइ दीपंकरलाई बोलाइन्। कोठामा पुग्दा उनले आफ्नी दिदीको हात-खुट्टा चिसो भइसकेको, मुखबाट फिँज निस्किरहेको र श्वासप्रश्वास बन्द भएको देखे। हतारहतार उनलाई सिलगढ़ी जिल्ला अस्पताल लगियो, जहाँ चिकित्सकहरूले मृत घोषित गरे।
परिवारको दाबी अनुसार, घटनापछि तनिशाकी आमा दीपशिखा घोष घर छाड़ेर गएकी छन्। अर्कोतर्फ, हजुरआमा गौरी घोषले आफ्नी नातिनीको सिरानीले मुख थुनेर हत्या गरिएको आशङ्का व्यक्त गरेकी छन्। उनले यस घटनामा आफ्नी बुहारीमाथि शङ्का व्यक्त गरेकी छन्।
यद्यपि, युवतीको मृत्यु कुन परिस्थितिमा भएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। पुलिसले परिवारको उजुरीका आधारमा घटनाका सबै पक्षबाट अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी