
गान्तोक, 20 नोभेम्बर (हि.स.)।पूर्वोत्तर र पहाड़ी राज्यहरूमध्ये ‘ऋण वितरणमा उत्कृष्ट कार्यसम्पादन’ विधामा सिक्किम राज्यलाई ‘स्वनिधि सम्मान पुरस्कार 2026’ प्रदान गरिएको छ।
पुरस्कार वितरण समारोह 20 नोभेम्बर, 2026 मा नयाँ दिल्लीस्थित डा. अम्बेडकर अन्तरराष्ट्रिय केन्द्रको भीम अडिटोरियममा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा भारत सरकारका आवास तथा शहरी मामिलामन्त्री मनोहर लाल मुख्य अतिथिका रूपमा र केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहु विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
सिक्किम राज्यको प्रतिनिधित्व गर्दै कार्यक्रममा सिक्किम सरकारका शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राई, शहरी विकास विभागका आयुक्त तथा सचिव जितेन्द्र सिंह राजे, प्रधानमन्त्री स्वनिधि राज्य मिशन निर्देशक जीएल मीना, नाम्ची नगर परिषद्का नगर कार्यकारी अधिकृत योगेन स्याङ्देन, नयाँ बजार-जोरथाङ नगर पञ्चायतका नगर कार्यकारी अधिकृत दिलीप डोङ र गान्तोक नगर निगम (जीएमसी)-का वरिष्ठ बजार अधिकृत विष्णु शर्मा सहभागी रहेका थिए।
यो पुरस्कारले सिक्किमका मुख्यमन्त्री पीएस गोलेको त्यो दूरदृष्टिलाई प्रतिबिम्बित गर्दछ, जसले सड़क विक्रेताहरूलाई तल्लो तहको आर्थिक सशक्तिकरण, स्थानीय अर्थतन्त्र र दिगो शहरी विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने पक्षका रूपमा मान्यता दिन्छ।
यो पुरस्कारले पूर्वोत्तर र पहाड़ी राज्यहरूमध्ये ‘प्रधानमन्त्री स्वनिधि योजना’ अन्तर्गत ऋण वितरणमा सिक्किम राज्यले गरेको उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्दछ साथै वित्तीय समावेशीकरण र समावेशी विकासतर्फ राज्यले गरेका प्रयासहरूलाई उजागर गर्दछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल