गान्तोकमा ‘विकसित भारतका लागि नशामुक्त युवा’ विषयमा विकसित भारत युवा संवाद कार्यक्रम आयोजित
गान्तोकमा ‘विकसित भारतका लागि नशामुक्त युवा’ विषयमा विकसित भारत युवा संवाद कार्यक्रम आयोजित


गान्तोक, 26 नोभेम्बर (हि.स.)। संविधान दिवसको अवसरमा ‘विकसित भारतका लागि नशामुक्त युवा’ भन्ने विषयवस्तुअन्तर्गत आयोजना गरिएको विकसित भारत युवा संवाद कार्यक्रम आज सिक्किमको सिच्छेस्थित सरकारी उच्चतर माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भयो।

सभालाई सम्बोधन गर्दै युवा आइकन भूमिका छेत्रीले विकसित भारत@२०४७ को परिकल्पनाबारे प्रस्तुति दिनुभयो र नशामुक्त भारत निर्माणको महत्त्वमा जोड़ दिइन्।

सब-जुनियर राष्ट्रिय कांस्य पदक विजेता तथा दुईपटक राज्यस्तरीय जुनियर स्वर्ण पदक विजेता प्रयांशु राईले आफ्ना अनुभवहरू साझा गर्दै अनुशासन, समर्पण र स्वस्थ जीवनशैली कायम राख्नुको महत्त्वबारे प्रकाश पारे।

एनएसएस तथा माई भारत प्रेसिडेन्सियल अवार्ड प्राप्तकर्ता अर्जुन प्रधानले युवा सशक्तीकरण, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा युवा नागरिकहरूको भूमिकाबारे मन्तव्य राखे।

सिच्छेस्थित सरकारी उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक याङचुक डोङ्काले जिम्मेवार व्यक्तित्व निर्माणमा शिक्षा, सचेतना र मार्गदर्शनको महत्त्वबारे आफ्ना महत्त्वपूर्ण विचारहरू राखे।

युवा आइकनको प्रस्तुतिपछि नशामुक्त भारतसम्बन्धी तीन मिनेटको सचेतनामूलक भिडियो प्रदर्शन गरियो। भिडियोमा लागूपदार्थको दुरुपयोगका हानिकारक परिणाम तथा यसले युवाहरूको जीवन, स्वास्थ्य र भविष्यमा पार्ने प्रभावलाई उजागर गरिएको थियो। यसका साथै, सोचविचार गरेर जिम्मेवार निर्णय लिनुपर्ने सन्देशलाई पनि जोड़ दिइएको थियो।

भूमिका छेत्रीसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र पनि आयोजना गरियो, जसले सहभागीहरूलाई अर्थपूर्ण छलफलमा सहभागी हुने अवसर प्रदान गरेको थियो। त्यसपछि छुकीको नेतृत्वमा भारतको संविधानको प्रस्तावना वाचन गरियो। यसमार्फत सहभागीहरूले संवैधानिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए। त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरियो।समग्रमा, यस कार्यक्रमले युवाहरूको सहभागिता, सचेतना र अन्तरक्रियाका लागि अर्थपूर्ण मञ्च प्रदान गरेको छ। यसले राष्ट्रको भविष्य निर्माणमा युवाहरूको महत्त्वपूर्ण जिम्मेवारी रहेको र विकसित भारत@२०४७ को परिकल्पना साकार पार्न स्वस्थ, अनुशासित तथा लागूपदार्थमुक्त पुस्ता आवश्यक रहेको सन्देशलाई थप बलियो बनाएको पीआईबीले विज्ञप्तिमा उल्लेख गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande