
खरसाङ, 27 नोभेम्बर (हि.स.)।भारतीय भूतपूर्व सैनिक संघ खरसाङ एकाईको सभा आज एकाईको कार्यालयमा सम्पन्न भयो। अवकाशप्राप्त क्याप्टन आईडी थापाको अध्यक्षतामा सम्पन्न सभामा कार्यकारी सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
सभामा उपसभापतिहरू कुमार भुजेल, परशुराम शर्मा, बिमार प्रधान, जीवन छेत्री र फुर्वा शेर्पालगायत कार्यकारी सदस्यहरू उपस्थित थिए। यसका साथै मार्गरेट्स होप र रोहिणी क्षेत्रबाट तीन-तीन जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सभामा जम्मा ४२ जनाको उपस्थिति रहेको सचिव पुरण थापाले जानकारी दिएका छन्।
सभामा मुख्य रूपमा खरसाङ एकाईको वार्षिक साधारणसभाको आयोजनाबारे छलफल गरियो। यसबाहेक जीवन प्रमाणपत्र, शहीद स्मारक निर्माण, वनभोज कार्यक्रमको आयोजना तथा संघको वार्षिक आयव्ययको हिसाबकिताब प्रस्तुत गर्ने विषयमा पनि विचारविमर्श गरियो।
शहीद स्मारक निर्माणको विषयमा विशेष रूपमा छलफल गर्दै प्रत्येक सदस्यबाट न्यूनतम पाँच हजार रुपियाँका दरले रकम सङ्कलन गर्ने प्रस्तावमाथि विचार गरिएको थियो। इच्छुक सदस्यहरूले स्वेच्छाले उक्त रकमभन्दा बढी सहयोग गर्न सक्ने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ।
सभाध्यक्ष अवकाशप्राप्त क्याप्टन आईडी थापाले छलफलमा उठेका विषयहरूमाथि आफ्नो धारणा राख्दै सभामा उपस्थित सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक