बाल विवाहमुक्त भारत अभियान: खरसाङमा विविध सचेतनामूलक कार्यक्रम सम्पन्न
बाल विवाहमुक्त भारत अभियान


खरसाङ, २७ नोभेम्बर (हि.स.)। बाल विवाहमुक्त भारत अभियानअन्तर्गत ‘अन्तरराष्ट्रिय बाल विवाह उन्मूलन दिवस’ को अवसर पारेर खरसाङमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरियो। खरसाङ महकुमा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा आँगनवाडी प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

खरसाङको रेलवे स्टेशन परिसरमा आयोजित कार्यक्रमअघि मोटर स्ट्यान्डबाट सचेतना र्‍याली निकालिएको थियो। र्‍याली अस्पताल मोड र वर्धमान रोड हुँदै पुनः मोटर स्ट्यान्ड भएर रेलवे स्टेशन परिसरमा पुगेर विभिन्न सचेतनामूलक गतिविधिमा परिणत भएको थियो।कार्यक्रममा बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक नाटक प्रदर्शन गरियो। यसका साथै विद्यार्थीहरूलाई सहभागी गराएर चित्रकला प्रतियोगितासमेत आयोजना गरिएको थियो।यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै आँगनवाडी प्रतिनिधिहरूका तर्फबाट बाल विकास परियोजना अधिकारी (सीडीपीओ) केएल शेर्पाले बाल विवाहमुक्त भारत अभियानअन्तर्गत दिवसको अवसर पारेर खरसाङमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।उनले प्रत्येक वर्ष २७ नोभेम्बरमा यो दिवस मनाइने उल्लेख गर्दै कार्यक्रममा आँगनवाडी प्रतिनिधिहरूको सहभागिता रहेको र बाल विवाहको कुप्रथाविरुद्ध जनचेतना फैलाउने प्रयास गरिएको बताइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande