
सोनादा, 27 नोभेम्बर (हि.स.)। पहाडका नागरी, रागेरुङ र एभोन ग्रुपअन्तर्गतका चियाबगानहरूमा कार्यरत श्रमिक तथा कर्मचारीहरूले भोगिरहेका विभिन्न समस्याबारे भारतीय मजदुर संघले दार्जिलिङका सहायक श्रम आयुक्तको ध्यानाकर्षण गराएको छ।
यस सम्बन्धमा भारतीय जनता पार्टीको श्रमिक संगठन भारतीय मजदुर संघ, दार्जिलिङ जिल्ला महासचिव प्रणय शेर्पाको नेतृत्वमा सम्बन्धित एकाइका प्रतिनिधिहरूले दार्जिलिङस्थित सहायक श्रम आयुक्तको कार्यालयमा पुगेर श्रमिक तथा कर्मचारीका समस्याबारे विस्तृत रूपमा जानकारी गराएका हुन्।
संघका अनुसार, सम्बन्धित चियाबगानका श्रमिक तथा कर्मचारीहरूले नियमित रूपमा काम गरिरहे तापनि उनीहरू आफ्नो श्रमको उचित मूल्य, नियमित ज्याला तथा तलब, उपदान र भविष्य निधि (पीएफ) जस्ता आधारभूत वैधानिक सुविधाबाट वञ्चित हुनुपरेको छ।विशेषगरी नागरी चियाबगानको व्यवस्थापनलाई पटक-पटक समस्याबारे जानकारी गराउँदा पनि समाधानका लागि गम्भीर पहल नभएको भन्दै संघले आपत्ति जनाएको छ। संघले श्रमिकका वैधानिक हक-अधिकार सुनिश्चित गर्न नसक्ने गैरजिम्मेवार कम्पनी तथा व्यवस्थापनमाथि श्रम विभागले यथाशीघ्र कडा कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरेको छ।कम्पनीले श्रमिकलाई नियमित रोजगारीमा लगाएर उनीहरूको भविष्य अन्योलमा पार्न नहुने उल्लेख गर्दै बगान सञ्चालन गर्न नसक्ने अवस्था भए त्यसबारे स्पष्ट निर्णय लिनुपर्ने र श्रमिकहरूको बक्यौता रकमसहित सम्पूर्ण वैधानिक सुविधा सुनिश्चित गर्नुपर्ने संघको माग रहेको छ।
हिन्दुस्थान समाचार / हनोक